प्रदीप र अर्जुन नरसिंहद्वारा नक्कली प्रमाणपत्र काण्डमा पक्राउ परेका सुनिलको बचाउ
काठमाडौं । नेपाली कांग्रेसका सांसदद्वय प्रदीप पौडेल र अर्जुन नरसिंह केसीले नक्कली प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सांसद सुनिल शर्मालाई छाड्न दवाव दिएका छन् ।
सिंहदरबारमा शुक्रबार बसेको बैठकमा सांसद पौडेलले भने, ‘सुनिल शर्माजीको विषयमा अहिले हामी पनि खोजी गरिरहेका छौँ । जुन आरोप लगाइएको छ, त्यो आधारमा यो ढंगले पक्राउ गर्नुपर्ने हो कि होइन ?’
‘उहाँले त सुन तस्करीका विषयमा कुरा उठाइरहनुभएको थियो, कतै त्यही कुरालाई प्रतिशोध राखेर तर्साउने प्रयास भएको त होइन भन्ने प्रश्न उठेको छ’, पौडेलले भने ।
सांसद अर्जुननरसिंह केसीले सुन तस्करीको छानबिनलाई डाइभर्ट गर्न सरकारले त्यसबारे आवाज उठाइरहेका सांसद शर्मालाई पक्राउ गरेको आरोप लगाए ।
‘सुनिल शर्माले कति गलत गरेका हुन् ? त्यो अनुसन्धान भएर कारबाही गर्नुपर्ने, नपर्ने छुट्याउने दायित्व पनि सरकारकै हो’, केसीले भने, ‘उहाँ सुन तस्करीका विषयमा सरकारप्रति औंला उठाइरहेका व्यक्ति हुन् ।’
‘यसकारण अहिले जुन ढंगले उहाँलाई पक्राउ गरियो, यो प्रतिशोध साँधेर गरेर गरिएको हो भन्ने प्रस्ट छ’, उनले भने, ‘यसले सुन तस्करीलाई रापसाफ पार्नका लागि, यसलाई डाइभर्ट गरेर अर्कोतिर लैजानका लागि गरिएको हो कि भनेर आशंका पैदा भएको छ ।’
उनले प्रतिपक्षको मागलाई नसुनेर संसद्लाई अवरोध पारिराख्नुभन्दा उच्चस्तरीय छानबिन समिति बनाएर सुन तस्करीको जरोसम्म पुग्नुपर्ने बताए ।
‘मैले त यदि यो प्रकरणलाई नामेट पार्ने हो भने उच्चस्तरीय न्यायिक छानबिन आयोग नै गठन गरौँ भन्ने प्रस्ताव गरेको छु । त्यसमा सर्वोच्च अदालतका पूर्वन्यायधीशहरूको संलग्नतामा बनाउन सकिन्छ’, उनले भने ।
‘यो सत्तापक्ष वा प्रतिपक्षको विषय होइन । हामीकहाँ यस्तो लुटेर खाने कुरामा सत्तापक्ष, प्रतिपक्ष भनेर दुरी बनाएर बस्ने चलन नै छैन, खानेबेला सबै मिलिहाल्छन्’, केसीले भने ।
‘हिजो ३३ केजी सुनकाण्ड आयो, १ केजी सुन फेला परेन । अहिले १०० केजी समाइएको छ’, उनले भने, ‘यसको जरोसम्म पुग्ने कुरालाई डाइभर्ट गर्न खोजिन्छ भने त्यो मान्य हुँदैन ।’
उनले सुन तस्करीका विषयमा मन्त्रीहरूको कनेक्सनबारे बोल्दा शर्मालाई समातिएको दाबी गरेका छन् ।
केसीले भने, ‘यो २७ वर्षपछि मुद्दा उठाउनुपर्ने सान्दर्भिकता कहाँबाट आयो ? उहाँ कति दोषी हो ? कारबाही गर्नुपर्ने अवस्था हो कि होइन ? त्यो पनि अनुसन्धानकै कुरा हो । तर अहिले उहाँलाई प्रतिशोधात्मक ढंगले यो काम भएको छ ।’
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया