केदारनाथमा एघार नेपाली बेपत्ता, कांग्रेसद्वारा खोजी गर्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसले भारतको उत्तराखण्ड राज्यमा केदारनाथ गौरीकुण्ड नजिकै पहिरोमा परेर ११ जना नेपाली नागरिक वेपत्ता भएको खबर अत्यन्तै दु:खद् भएको जनाएको छ ।

कांग्रेसले शनिबार विज्ञप्ति जारी गरेर बेपत्ता हुने अधिकांश व्यक्ति जुम्ला जिल्लाको पातारासी गाउँपालिकाका भन्ने बुझिन आएको जनाएको छ ।

दु:खद् घटनामा वेपत्ता भएका व्यक्तिको परिवारजनको पीडाप्रति कांग्रेस गहिरो संवेदनशीलता र सहानुभूति प्रकट गरेको छ ।

‘वेपत्ता नेपाली नागरिकको हरतरहले खोजी गर्न, उद्धार गरिएकाहरूको स्वास्थ्योपचारको व्यवस्था मिलाउन र तत्पश्चात स्वदेश फिर्ता ल्याउनका लागि भारत सरकारसँग अविलम्व पहल गर्न नेपाली कांग्रेस सरकारसँग माग गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

उता, केदारनाथ मार्गमा पर्ने गौरीकुण्डमा पहिरोमा परी बेपत्ता भएका नेपालीहरूको खोजी तथा उद्धारका लागि सीमावर्ती जिल्लाका सुरक्षा निकायमार्फत समन्वय भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले आवश्यक सूचना आदानप्रदानदेखि खोज, उद्धारका विषयमा जानकारी प्राप्त भइरहेको बताए ।

बिहीबार राति गौरीकुण्डामा गएको पहिरोमा परी तीन जना नेपालीको मृत्यु भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

गौरीकुण्डमा नेपालीहरुले पसल तथा होटेल सञ्चालन गरेका थिए । पहिरोले पसल र होटेल सबै बगाएर मन्दाकिनी नदीमा पुर्‍याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको उत्तराखण्ड र हिमाञ्चल क्षेत्रमा लगातार बाढी पहिरोबाट ठूलो धनजनको क्षति भइरहेको छ ।

२०७० मा पनि केदारनाथ र बद्रीनाथमा भीषण वर्षापछि बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको थियो । उक्त क्षेत्रमा नेपालीहरु भरियाको काम गर्छन् ।

नेपालीहरूले वृद्धवृद्धाहरूलाई डोकोमा बोक्ने, तीर्थयात्रीका सामान ढुवानीलगायत कामदेखि गर्दै आएका छन् । कतिपयले होटेल र किराना पसल चलाएर बसेका छन् ।

Published : Saturday, 2023 August 5, 9:38 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया