डेंगु रोग फैलिएकोमा कांग्रेसद्वारा चिन्ता व्यक्त, उपचार र नियन्त्रण गर्न माग

काठमाडौं । नेपाली कांग्रेसले डेंगु रोगको महामारीका कारण मुलुकको पूर्वी भू–भाग, विशेष गरेर कोशी प्रदेशको धरान र आसपासमा हालसम्म दर्जनौंको ज्यान गइसकेको भन्दै चिन्ता जनाएको छ ।

बिहीबार कांग्रेसले विज्ञप्ति जारी गरेर डेंगु रोगको संक्रमणका कारण सयौंको संख्यामा नागरिक सिकिस्त बिरामी परेको जनाएको छ ।

‘रोग फैलिने क्रम रोकिएको छैन । समाजमा यसको त्रास फैलिएको छ’, कांग्रेसले भनेको छ, ‘अत: सो सम्बन्धमा बिरामीको उपचार गर्न, विशेष स्वास्थ्य रणनीतिका साथ महामारीलाई तत्काल नियन्त्रणमा लिनका साथै दिगो र प्रभावकारी समाधान खोजी जनतामा स्वास्थ्य सुरक्षाको प्रत्याभूति गर्न नेपाली कांग्रेस सरकारको ध्यानाकर्षण गराउँदछ ।’

कांग्रेसले भनेको छ, ‘सेवामा जुटेका स्थानीय सरकार, स्वास्थ्यसँग सम्वद्ध संघ संस्था एवं प्रतिष्ठानलाई थप जिम्मेवारपूर्वक कार्य गर्न हार्दिक अपिल गर्दै रोगबाट प्रभावित व्यक्ति, परिवार र समुदायका लागि मानवीय सेवामा जुट्न नेपाली कांग्रेसका स्थानीय नेता एवं पार्टी सदस्यहरूलाई नेपाली कांग्रेस आह्वान गर्दछ ।’

‘महामारीबाट प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको नेपाली कांग्रेस कामना गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘महामारीबाट ज्यान गुमाएका व्यक्तिहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ उहाँहरूका शोक सन्तप्त परिवारजनप्रति नेपाली कांग्रेस गहिरो समवेदना प्रकट गर्दछ ।’

Published : Thursday, 2023 August 3, 8:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया