कांग्रेसको बदनाम गर्ने गृहमन्त्रीले सुन काण्डमा माओवादीका बाबु-छोरा बचाए, सीआईबी नै छक्क

काठमाडौं । उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ कति पूर्वाग्रही छन् भन्ने कुराको प्रमाण बाहिरिएको छ ।

श्रेष्ठले सुन तस्करी काण्डमा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरा संलग्न रहेको प्रहरीले प्रमाणसहितको प्रतिवेदन पेश गर्दा समेत कुनै कारबाही गरेका छैनन् । बरु महराका बाबु–छोरालाई बचाएका छन् ।

गृहमन्त्री श्रेष्ठ सत्ता साझेदार नेपाली कांग्रेसका नेता बदनाम गर्ने अभियानमा भने सक्रिय भएर लागेका छन् । महराका बाबु–छोरालाई पक्राउ गरेर मुद्दा नचलाउने होभने श्रेष्ठलाई गृहमन्त्रीको पदमा बस्ने कुनै अधिकार छैन ।

शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई जेल हाल्ने गृहमन्त्री श्रेष्ठ सुन तस्करी प्रकरणमा सीआईबीले नै प्रतिवेदनमा नाम उल्लेख गरेका माओवादी उपाध्यक्ष महरालाई जोगाउन लागिपरेका छन् ।

भ्रष्टाचारी जुनसुकै पार्टीका भए पनि कसैलाई नछोड्ने बताउँदै आएका श्रेष्ठ अहिले आफ्नै पार्टीका नेतालाई उम्काएर अरुलाई दोषी देखाउँदै जेल हाल्ने अभियानमा लागेका छन् । आफ्नो पार्टी माओवादीका नेताहरूलाई बचाउन लागेका छन् । श्रेष्ठले अब कुन मुखले जनतासँग कुरा गर्ने हुन् हेर्नुपर्ने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा बिचौलियाले नाम पोलेकै आधारमा पूर्वगृहमन्त्री खाण थुनामा छन् ।

भन्सारबाट चोरी भएको नौ किलो सुनमा मुछिएका माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोरा राहुल महरालाई गृहमन्त्री श्रेष्ठले उन्मुक्ति दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले इलेक्ट्रिक सिगरेट (भेप) मा सुन ल्याएर तस्करी गरेको प्रतिवेदन बुझाएको छ ।

सीआईबीले भन्सारबाट चोरी गरेर माओवादी नेता महराको बाबुछोराले सुन निकालेको किटानी गर्दा पनि गृहमन्त्री श्रेष्ठले छानबिनमा तानेका छैनन् ।

आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर सीआईबीको प्रतिवेदनमा किटान छ । उनीहरूमाथि मुद्दा दर्ता त भएको छैन नै, उनीहरूलाई योजनाबद्ध रूपमा उन्मुक्ति दिन खोजिएको छ ।

चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महराका बाबु–छोराले लीलाई सहयोग पुर्‍याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको सीआईबीको सूचीमा उल्लेख छ ।

चिनियाँ नागरिक लीपछि दोस्रो व्यक्ति महरा र चौथो व्यक्ति उनका छोरा राहुल महरा भएको प्रतिवेदनमा उल्लेख छ ।

सुन प्रकरणमा हाल हिरासतमा रहेका भन्सार र विमानस्थलका कर्मचारीले महराका लागि सुन ल्याएको बयान दिएका छन् ।

प्रहरीले कल डिटेल रेकर्डसहित कृष्णबहादुर र राहुलको विवरण खुलाउँदा पनि उनीहरूको प्रसंग छायाँमा पारेर जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गत असार २७ मा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पुस १० मा दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङको लगेजमा ७३ बट्टामा ७३० थान भेप भेटिएको थियो ।

प्रहरी अनुसन्धानले भनेको छ, ‘नौ किलो ११.५२४ ग्राम सुनको बजार मूल्य आठ करोड ५५ लाख २८ हजार तीन सय ७४ रहेको काठमाडौं सुनचाँदी व्यवसायी संघको मूल्यांकन छ ।’

Published : Wednesday, 2023 August 2, 9:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया