बालेनलाई राप्रपाले दियो झट्का, गृहमन्त्री र सीडीओको असहयोग

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) जितेन्द्र बस्नेतले काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’लाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अबैध संरचनामा बनेको पार्टी केन्द्रीय कार्यालयको भवन भत्काउन अबरोध गरेका छन् ।

उप–प्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको आदेशमा प्रमुख जिल्ला अधिकारी बस्नेतले राप्रपाको पार्टी कार्यालय भत्काउन अबरोध सिर्जना गरेका हुन् । बालेन्द्रको आदेशपछि सोमबार राप्रपाको अबैध संरचना भत्काउन डोजर धुम्बाराहीस्थित कार्यालय अगाडि पुगेको थियो ।

काठमाडौं महानगरपालिकाले शुक्रबार माइकिङ गरेर तीन दिनभित्र घर भत्काउन आग्रह गरेको थियो । नभत्काए डोजर चलाउने बालेनको चेतावनी थियो ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई तत्काल राप्रपाको भीडमाथि बल प्रयोग नगर्ने आदेश भएकाले नगर प्रहरी मात्रै अगाडि बढ्दा खतरा हुने भएपछि नगर प्रहरी राप्रपाको केन्द्रीय कार्यालय गएको थिएन । गृहमन्त्री श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी बस्नेतले नगरप्रमुख बालेनलाई ठूलो असहयोग गरेका छन् ।

मेयर बालेन शाहका स्वकीय सचिव भुपदेव शाहले महानगरपालिकाले आफ्नो स्थानीय तहमा पर्ने हाइटेन्सन लाइनमुनिको भौतिक संरचना हटाउँदा प्रशासनले सहयोग नगरेको बताएका छन् ।

यसअघि, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा महानगर प्रहरी प्रमुख राजु पाण्डे, बालेनको सचिवालयका प्रतिनिधि धिरज जोशी, विद्युत प्राधिकरण रत्नपार्क स्टेशन प्रमुख र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुखबीच छलफल भएको थियो ।

महानगरपालिका र प्राधिकरणको टोलीले गैरकानुनी रुपमा निर्माण भएकाले सूचना जारी गरिरहनु नपर्ने जानकारी प्रमुख जिल्ला अधिकारी बस्नेतलाई गराएका थिए ।

प्रमुख जिल्ला अधिकारी बस्नेतले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई पनि फोन गरेका थिए । लिङ्देनले पार्टी कार्यालय व्यवस्थापन लागि समय चाहिने र आफैं भत्काउन तयार रहेको बताएका थिए ।

महानगरपालिकाले डोजर चलाउने सूचना पाएपछि राप्रपाले पार्टीका युवा र विद्यार्थी संगठनका कार्यकर्तालाई पार्टी कार्यालयमा बोलाएको थियो । राप्रपाका कार्यकर्ताहरू बालेनले डोजर चलाएमा प्रतिकार गर्ने तयारीमा थिए ।

Published : Monday, 2023 July 31, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया