कांग्रेसभित्र अनुशासनहीन बने मेडिकल माफिया शर्मा, अकुत कमाउन उत्पात

काठमाडौं । नेपाली कांग्रेसभित्र अनुशासनको निकै समस्या देखिएको छ । आफूलाई मन नपरेको विषयमा राजनीतिक र तर्कपूर्ण आलोचना गर्न पाइन्छ । तर, व्यक्तिगत वा आफ्नो कम्पनीका लागि कांग्रेसको सांसद बनेर सार्वजनिक रुपमा आफ्नै दलका मन्त्रीको राजीनामा माग गर्ने कुरा अनुशासनहीन हो ।

प्रतिनिधि सभाका सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्माले अर्थमन्त्री डा.प्रकाशशरण महतको राजीनामा माग गरिरहेका छन् । शर्माले मन्त्रीहरूको राजीनामा माग गर्न पाउँछन् । तर, उनी अहिले कुन दलमा छन् ? उनको दल सत्तामा छ वा प्रतिपक्षमा छ त्यो विषयमा जानकारी राख्दा राम्रो हुन्छ ।

शर्मालाई मेडिकल माफियाको आरोप लाग्दै आएको छ । शर्माविरुद्ध तत्कालीन समयमा डा.गोविन्द केसीले नामै लिएर अनशन समेत बसेका थिए । शर्माका धेरै कर्तुतहरू त्यस बेला बाहिर आएका थिए ।

पैसाको बलमा सांसद जितेर आएका शर्माले आफ्नो पार्टी कांग्रेसको नीति र नियमभन्दा बाहिर गएर हर्कत गरिरहेका छन् ।

उनले आफूलाई अनुशासनमा राख्न जरुरी छ । अनुशासनमा बस्न मन छैन भने सांसद पदबाट राजीनामा दिएर मेडिकल व्यवसायी दुर्गा प्रसाइँ जस्तै गरेर बस्नुपर्छ । होइन भने कांग्रेसको विधि र विधानलाई मान्नुपर्छ ।

मेडिकल माफियाको आरोप लागेका शर्माले सरकारसँग बीमाको ठेक्का मागेका थिए । सरकारले शर्मालाई सिधै हस्ताक्षर गरेर बीमाको ठेक्का दिने कुरै भएन । बीमाको ठेक्का नपाएपछि अर्थमन्त्री डा.महतको राजीनामा माग गरिरहेका छन् । अकुत कमाइ हुने स्वार्थ पूरा नभएपछि सांसद शर्माले अर्थमन्त्री डा.महतको राजीनामा माग गरिरहेका हुन् । शर्मा निकै विवादित व्यापारी हुन् । शर्माविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पनि उजुरीहरू परेका छन् । शर्माले यस्तै हर्कतहरू गरिरहे भने कांग्रेसलाई ठूलो क्षति हुनेछ ।

अर्थमन्त्री डा.महतले धरासायी बनेको मुलुकको अर्थतन्त्रलाई लयमा ल्याएका छन् । निकै तल झरेको सेयर बजारलाई पनि लयमा ल्याइदिएका छन् ।

डा.महतले राम्रो काम गरेकै कारण अर्थतन्त्रमा सुधारका संकेत देखिएका छन् । यो कुरा तथ्याङ्कले पनि देखाइरहेको छ । डा.महतले नै अबैध सुन पक्राउ गरेमा कमिशन दिने निर्णय गराएका थिए । डा.महतको त्यो निर्णयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक सय किलो अबैध सुन बरामद भएको छ ।

आरोपहरूका बारेमा प्रतिक्रिया लिन सम्पर्क गर्दा शर्माले फोन उठाएनन् । शर्मा अहिले सञ्चारमाध्यमहरूमा दुर्गा प्रसाइँ जस्तै भाइरल बनिरहेका छन् ।

Published : Sunday, 2023 July 30, 10:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया