मुख सम्हाल्न नसक्ने अधिवक्ता भगवतीलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । अधिवक्ता भगवती पाण्डे ‘शीतल’विरूद्ध पक्राउ पुर्जी जारी भएको छ ।

शुक्रबार काठमाडौं जिल्ला अदालतले पाण्डेविरूद्ध पक्राउ पुर्जी जारी गरेको जिल्ला प्रहरी परिसरका काठमाडौंका डीएसपी अनिल अधिकारीले बताएका छन् । पाण्डेविरूद्ध जारी पक्राउ पुर्जी बुझ्ने क्रममा रहेको उनले बताएका छन् ।

अधिवक्ता पाण्डले केही दिनअघि अन्तर्वार्ताका क्रममा मुस्लिम, मगर, तामाङ लगायत समुदायमा दाजुबहिनीबीच विवाह हुने विवादास्पद अभिव्यक्ति दिएकी थिइन् ।

सोही अभिव्यक्तिलाई लिएर पाण्डेविरूद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले उजुरी दिएका थिए ।

उजुरीका आधारमा पाण्डेविरूद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको डीएसपी अधिकारीले बताएका छन् ।

प्रतिनिधि सभा बैठकमा केही सांसदहरूले पनि अधिवक्ता पाण्डेको अभिव्यक्तिले तामाङ समुदायमा आघात परेको भन्दै तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए ।

पाण्डेविरुद्ध जातीय विभेदको कसुरमा कारवाही गर्न माग गर्दै जाहेरी परेको थियो । जाहेरीका आधारमा पाण्डेलाई पक्राउ पुर्जी जारी भएको छ ।

पक्राउ पुर्जी जारीपछि अधिवक्ता पाण्डेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Published : Friday, 2023 July 28, 8:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया