विभागद्वारा सुन काण्डमा प्रहरीको सहयोग माग, एसपी पंगेनीलाई जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीले मानव बेचविखन अनुसन्धान व्यूरोमा कार्यरत प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीलाई सुन प्रकरणबारे छानविन गर्न पठाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ठूलो परिमाणको सुनबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले एसपी पंगेनीलाई खटाएको छ ।

राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले एसपी पंगेनीलाई खटाएको प्रधान कार्यालयका प्रवक्ता (डीआइजी) कुवेर कडायतले बताएका छन् ।

सुन प्रकरणमा भन्सार विभागले छानबिन समिति बनाएको थियो । अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा रहेको उक्त समितिले अहिले काम गरिरहेको छ ।

विभागबाट खटिएको टोलीले गत मंगलबार विमानस्थलको भन्सार जाँचपास भएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो ।

हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो ।

सुन बरामद भएयता विभागले एक जना भारतीय र एक जना चिनियाँ नागरिकलाई समेत पक्राउ गरिसकेको छ । सुन प्रकरणमा १६ जना पक्राउ परेका छन् ।

भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पनि पक्राउ परेका छन् ।

Published : Tuesday, 2023 July 25, 12:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया