कांग्रेसलाई तत्कालका लागि राहत, न्याय पाउने ठूलो विश्वास

काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकार गठनसम्बन्धी विवाद पूर्ण इजलासमा पठाएको छ ।

सोमबार न्यायाधीशहरु सुष्मलता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाएका हुन् । उनीहरुले जटिल कानूनी प्रश्न समावेश भएको भन्दै कोशी प्रदेशको सरकार गठनको विवादलाई पूर्ण इजलासमा पठाएको सर्वोच्च अदालतले जनाएको छ ।

सर्वोच्च अदालतको नियमावलीको नियम २३ (ग) अनुसार संयुक्त इजलासलाई कुनै मुद्दामा जटिल कानूनी प्रश्नको निरुपण पूर्ण इजलासबाट हुन उपयुक्त छभन्ने लागेमा पठाउन सक्ने व्यवस्था छ । मंगलबारदेखि तीन न्यायाधीश संलग्न पूर्ण इजलासमा सुनुवाइ हुनेछ ।

तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत नपाएर पदमुक्त भएपछि कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका थिए ।

असार २१ गते कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले माओवादीका सांसद तथा सभामुख बाबुराम गौतमको समेत समर्थन पेश गरेर मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

एमाले संसदीय दलका नेता कार्कीले सभामुखको समर्थनबाट सरकार गठन हुनु गैरकानूनी भन्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

Published : Monday, 2023 July 24, 11:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया