सभापति देउवाको प्रशंसा, प्रत्यक्ष प्रशारणले गगनको योजना तुहियो, साइबर सेनाहरू सक्रिय

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठकलाई प्रत्यक्ष प्रशारण गरेर सबैको ध्यान आफूतिर तान्न सफल भएको छ ।

सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठकलाई प्रत्यक्ष प्रशारण गर्न निर्देशन दिएका थिए । बैठकको प्रत्यक्ष प्रशारण गर्ने देउवाको निर्णयलाई सामाजिक सञ्जालमा समर्थन भएको छ । बैठकभित्र नेताहरूले के–के गर्छन् ? भनेर जनताले हेर्न पाएका छन् । कांग्रेसलाई सभापति देउवाले पारदर्शी बनाउने प्रयास स्वरुप प्रत्यक्ष प्रशारणको नीति ल्याएका छन् ।

देउवाको प्रस्तावलाई छिटफुट नेताहरू बाहेक सबैले समर्थन जनाएका थिए । सभापति देउवाले बैठकलाई प्रत्यक्ष प्रशारण गर्ने भनेपछि सबैभन्दा धेरै टाउको दु:खाइ महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा केन्द्रीय सदस्य प्रदीप पौडेलहरूलाई भएको थियो । उनीहरूले पछिल्लो समय सार्वजनिक रुपमा कांग्रेस र सभापति देउवालाई कमजोर बनाउने गरेर तल्लोस्तरको अराजनीतिक अभिव्यक्ति दिँदै आएका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा चुइक्क बोल्न नसक्ने महामन्त्रीद्वय थापा र शर्मा तथा केन्द्रीय सदस्य पौडेलको फण्डाले यस पटक काम गरेको छैन । केन्द्रीय कार्यसमिति बैठकमा उनीहरूका कुरालाई कांग्रेसका कार्यकर्ताले राम्रोसँग बुझ्नेछन् ।

बैठकमा आफ्ना कुरा राख्न सबैलाई छुट छ । महामन्त्रीद्वय थापा र शर्मा तथा केन्द्रीय सदस्य पौडेलले सार्वजनिक कार्यक्रममा दिएका अभिव्यक्तिहरू केन्द्रीय कार्यसमितिको बैठकमा राख्छन् वा राख्दैनन् होला हेर्न बाँकी छ ।

सभापति देउवा धेरै बोल्दैनन् । कसैको आलोचना पनि गर्दैनन् । देउवाको त्यही लचकतालाई कमजोरी ठानेर महामन्त्रीद्वय थापा, शर्मा र केन्द्रीय सदस्य पौडेलले जथाभावी बोल्दै आएका छन् ।

महामन्त्री थापाले सभापति देउवालाई संसदीय दलको नेताबाट फालेर आफू दलको नेता बन्ने घोषणा गरिसकेका छन् । त्यसका लागि आफू पुन: लागेको थापाले बताएका छन् । देउवालाई सभापति पदबाट पनि फाल्ने भनेर थापाले बोलेका छन् ।

केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री थापाले देउवालाई संसदीय दलको नेता र सभापति पदबाट हटाउने प्रस्ताव ल्याउँछन् वा ल्याउँदैनन् हेर्न बाँकी छ । महामन्त्री थापाको हुति अब केन्द्रीय कार्यसमितिको बैठकमा देखिनेछ ।

महामन्त्री थापाले सार्वजनिक कार्यक्रमहरूमा जसरी बोलेका छन् ती सबै खपतका लागि हुन् । केन्द्रीय कार्यसमितिको बैठकलाई प्रत्यक्ष प्रशारण गरेपछि महामन्त्री थापाले आफ्ना साइबर सेना परिचालन गरेर आलोचना गर्न लगाइरहेका छन् । थापा निकटका व्यक्तिहरूले प्रत्यक्ष प्रशारणको विरोध गरिरहेका छन् ।

महामन्त्री थापालाई पनि निकै हैरानी भएको छ । रवि लामिछाने, बालेन्द्र शाह ‘बालेन’, हर्क सम्पाङहरू युवाहरूका बीच लोकप्रिय बनेपछि महामन्त्री थापाको लोकप्रियता ह्वात्तै घटेको छ । आफ्नो लोकप्रियता घटेपछि थापाले सभापति देउवाविरुद्ध तल्लोस्तरको गैर राजनीति अभिव्यक्ति दिएर विवादित बनेका छन् ।

यसैबीच, मंगलबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकमा पदाधिकारी र नेताहरूले विभिन्न प्रतिवेदनहरू पेश गरेका छन् ।

महामन्त्री शर्माले १० बुँदे प्रस्ताव र सोही प्रस्तावभित्रको सांगठनिक कार्ययोजना तथा कार्यतालिका महामन्त्री थापाले प्रस्तुत गरेका छन् ।

उप–सभापति एवं उप–प्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मंसिर ४ को निर्वाचन परिणाम पश्चात विकसित घटनाक्रम र सरकारको गतिविधिबारे जानकारी गराएका छन् ।

नेता गोपालमान श्रेष्ठले केन्द्रीय निर्वाचन परिचालन समितिको प्रतिवेदन समितिका विषयमा जानकारी गराएका छन् । संयोजक आनन्दप्रसाद ढुंगानाले केन्द्रीय अनुशासन समितिको प्रतिवेदन समितिको पेश गरेका छन् ।

संसदमा पार्टीको गतिविधि सम्बन्धी प्रतिवेदन प्रमुख सचेतक रमेश लेखकले बैठकमा प्रस्तुत गरेका छन् । केन्द्रीय कार्यसमितिको भोलि कार्यसमितिको बैठक साउन ३ गते बिहान ११ बस्नेछ । बैठकमा प्रस्तुत प्रस्ताव र प्रतिवेदनहरु उपर छलफल गरिने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Tuesday, 2023 July 18, 9:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया