सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस समावेशी, समानुपातिक, आदिवासी, जनजाती, सबैको पार्टी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस निकटको तमू (गुरुङ) संघले आयोजना गरेको बागमती प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै देउवाले नेपाल आदिवासी, जनजाती, दलित, थारु, मुस्लिम सबैको देश भएको बताएका हुन् ।

उनले सबै आदिवासी जनजातीहरू सहभागिता, समर्थनमा मात्रै नभई पार्टीप्रति प्रतिवद्ध हुन जरुरी रहेको बताएका छन् ।

देउवाले कांग्रेसमा सबै जनताको सहभागिता आवश्यक रहेको बताएका छन् । ‘यो देश सबैको देश हो, आदिवासी, जनजाती, दलित, थारु, मुस्लिम सबैको देश हो’, उनले भने, ‘विशेष गरी नेपालको राजनीतिमा सबैको भूमिका सबैको सहभागितामा उदार हुनुपर्ने आवश्यकता छ ।’

‘सबैलाई कुनै न कुनै किसिमले समावेशी, राजनीतिसहित सबै ठाउँमा, हरेक ठाउँमा उहाँहरूको पनि समावेशी हुन आवश्यक छ’, देउवाले भनेका छन् ।

उनले भने, ‘त्यसैले अहिले काठमाडौंमा भेला हुनुभएको छ, धन्यवाद छ । एउटा कुरा के छ भने, हाम्रो पार्टी समावेशी, समानुपातिक, आदिवासी, जनजाती, सबैको पार्टी हो ।’

‘हाम्रो पार्टीमा बढीभन्दा बढी आदिवासी जनजातीहरूले सहभागिता, समर्थन मात्रै होइन, पूर्ण रूपले जनता नै आदिवासी जनजातीका जनता नै पार्टीप्रति प्रतिवद्ध हुनुपर्छ’, देउवाले भनेका छन् ।

सभापति देउवाले सबैलाई सँगै र साथमा लिएर हिँड्न कांग्रेस तयार रहेको बताएका छन् ।

कांग्रेसका नेता तथा अर्थमन्त्री डा.प्रकाशशरण महतले नयाँ दलहरू धेरै समय नटिक्ने बताएका छन् ।

डा.महतले राष्ट्रिय स्वतन्त्र पार्टी, जनता पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलतर्फ संकेत गर्दै उनीहरू लामो समय टिक्न नसक्ने बताएका हुन् ।

‘अहिले नयाँ नयाँ प्रवृत्तिहरू आइरहेका छन्’, उनले भने, ‘यिनीहरूले केही गर्दैनन् । अब हामी गर्छौँ भनेर आएका छन् । टिक्दैनन् ।’

उनले भने, ‘हामी दु:खमा, सुखमा, दसौँ वर्ष जेल, पुलिसको लाठी डन्ठा सहेर, झरीमा, बादल, अफ्ठ्यारो र सफ्ठ्यारोमा पनि त्यसरी विकसित भएको पार्टी हो नेपाली कांग्रेस ।’

डा.महतले लोकतन्त्र बलियो नभएको बताउँदै त्यसका लागि कांग्रेस बलियो हुनुपर्ने बताएका हुन् ।

‘यी नयाँ प्रवृत्तिहरू देखिएका छन् उनीहरूले भोग्नुपर्‍यो भने कति टिक्छन् हेरौँला’, डा.महतले भने, ‘नेपालमा अझै लोकतन्त्र संस्थागत र बलियो भइसकेको छैन ।’

‘यसलाई बलियो बनाउन नेपाली कांग्रेस बलियो हुनुपर्छ’, नेता डा.महतले भने, ‘सबै जातजाती मिलेर कांग्रेसलाई बलियो बनाउनुपर्छ ।’

Published : Sunday, 2023 July 16, 1:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया