डीआईजीद्वारा अनुसन्धान समूह खारेज, गुण्डाको जस्तो हर्कत गर्ने यी २ प्रहरीविरुद्ध अनुसन्धान

काठमाडौं । नेपाल प्रहरीको सुदूरपश्चिम प्रदेशका प्रमुख (डीआईजी) भरत बोहराले अनुसन्धान समूह (आरआइटी) खारेज गरिदिएका छन् ।

डीआईजी बोहराले कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटी खारेज गरेका हुुन् ।

बोहराले दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धित ठाउँमा रमाना गरेर पठाएका छन् । डीआईजी बोहराले आक्रमणको आरोप लागेका २ प्रहरीमाथि अनुसन्धान शुरु गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

बेलौरी बजारमा रहेको फेमली रेष्टुरेष्टका सञ्चालक सुरेशकुमार वडायकमाथि शुुक्रबार राति धारिलो वस्तुले प्रहार गरेको आरोप लागेपछि सहायक हवलदार दीप पाण्डे र प्रहरी जवान हेमराज भट्टमाथि अनुसन्धान भइरहेको छ । पाण्डे र भट्टले गुण्डाशैलीमा हर्कत गरेको भनेर विरोध भइरहेको छ । उनीहरू दोषी पाइएमा डीआईजी बोहराले कडा कारबाही गर्ने चेतावनी दिएको स्रोतको भनाइ छ ।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा एसएसपी प्रज्वल महर्जनले प्रदेश अनुसन्धान समूह (आरआइटी) खारेज गरिएको पत्रकारहरूलाई प्रतिक्रिया दिएका छन् ।

Published : Saturday, 2023 July 15, 11:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया