प्रदीपको नाकमुनि ४ वटा हेलिकप्टर दुर्घटना, सरकारले ज्वाइँ जस्तै पालेर राख्यो, थापासँग लिए बदला
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशमा प्रदीप अधिकारी आएपछि हवाइ उडान असुरक्षित हुँदा समेत सरकारले उपयुक्त कदम उठाउन सकेको छैन ।
चार महिनाभित्र ४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । ४ वटा हेलिकप्टर दुर्घटना हुँदा समेत त्यसको जिम्मेवारी अधिकारीले लिएका छैनन् । दुई दिन अगाडि सोलुखुम्बुमा भएको हेलिकप्टर दुर्घटनापछि अधिकारीले नयाँ नियम भनेर अव्यवहारिक निर्देशन जारी गरेका छन् । हेलिकप्टर सञ्चालक अर्थात मालिकहरू जो पाइट छन् उनीहरूलाई हेलिकप्टर चलाउन नदिने निर्देशन जारी गरेर महानिर्देशक अधिकारीले रिस पोखेका छन् ।
काभ्रेपलाञ्चोकमा हेलिपोर्ट निर्माणको विषयमा महानिर्देशक अधिकारी र सिम्रिक एयरका मालिक समेत रहेका क्याप्टन रामेश्वर थापासँग विवाद भएको थियो । त्यो विवादको बदला अहिले आएर अधिकारीले लिएका छन् ।
प्राधिकरणको महानिर्देशकमा अधिकारी आएपछि नेपाली आकाशमा पोखरासहितका ठूला दुर्घटना भइसकेका छन् । अधिकारीलाई ती दुर्घटना हुँदा पनि ज्वाइँलाई जस्तो गरेर सरकारले संरक्षण गरेर राखेको छ ।
तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले प्राधिकरणका सिनियर कर्मचारीहरूलाई लात हानेर जुनियर कर्मचारी अधिकारीलाई महानिर्देशक बनाएका थिए । आले र अधिकारीबीच के–के विषयमा के–के भयो भनिरहनु पर्दैन । धेरै कुरा बाहिर आइसकेका छन् ।
अहिलेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन् । मन्त्री किराँतीलाई नटेरेर अधिकारीले पहिलो स्पष्टीकरणको जवाफ नै दिएनन् । दोस्रो स्पष्टीकरणको भने अधिकारीले जवाफ दिएका छन् । मन्त्री किराँतीले अधिकारीलाई कारबाही गर्ने हुति राख्दैनन् । अधिकारीले बालुवाटारका दलालहरूमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुरा मिलाइसकेका छन् । अब मन्त्री किराँतीलाई अधिकारीले झन् टेरपुच्छर लगाउने छैनन् ।
असार २६ गते सोलुखुम्बुको लिखुपिके गाउँपालिका– ५ लामाजुरा क्षेत्रमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो । त्यसअघि २२ वैशाखमा अरुण तेस्रो जलविद्युत् आयोजनाको सामग्री झारेर फर्किंदा सिम्रिक एयरको हेलिकोप्टर संखुवासभाको भोटखोला गाउँपालिकाको सिप्रङमा दुर्घटना हुँदा एकजनाको मृत्यु भयो । दुर्घटनामा पाइलटसहित चारजना यात्रु घाइते भएका थिए ।
गत २५ चैतमा एयर डाइनेस्टीको हेलिकोप्टर ९ एन–एजेडी ह्याम्स अस्पतालको छतमा अवतरण गर्ने क्रममा टेल स्ट्राइक भएको थियो । हेलिकोप्टरको टेल रोटर मात्र भाँचिएको हुँदा पाइलटलाई कुनै चोटपटक लागेको थिएन । अर्को दिन २६ चैतमा हेली एभरेस्टको हेलिकोप्टर धौलागिरि बेसक्याम्पमा दुर्घटनामा परेको थियो । कार्गो बोकेको हेलिकोप्टर हवाहुरीका कारण अनियन्त्रित भएर दुर्घटना हुँदा क्याप्टेन प्रिया अधिकारी सामान्य घाइते भएकी थिइन् ।
अहिलेसम्म विभिन्न स्थानमा ४१ हेलिकोप्टर दुर्घटनामा परेका छन् । दुर्घटनामा सयजनाभन्दा बढीको मृत्यु भएको छ । कुल हेलिकोप्टर दुर्घटनामध्ये २० दुर्घटनामा मानवीय क्षति भएको छ । २१ दुर्घटनामा पाइलट र यात्रु सामान्य घाइते भएका छन् । प्राधिकरणले हेलिकोप्टर तथा दुर्गम (स्टल) विमानस्थलमा हुने दैनिक उडान गतिविधिलाई नियमित रूपमा अनुगमन, सुपरिवेक्षण तथा नियमन गर्न विशेष टोली गठन गर्ने निर्णय गरेको छ ।
सरोकारवाला क्षेत्रका प्रतिनिधि सहभागी रहने टोलीले हेलिकोप्टर र दुर्गम उडानको दैनिक अनुगमन तथा नियन्त्रण गर्नेछ ।
हेलिकोप्टर उडानका लागि अहिले विभिन्न विमानस्थलबाट भइरहेको अनुमति मनसुन अवधिभर (सेप्टेम्बरसम्म) साप्ताहिक रूपमा समीक्षा गरी प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान गर्ने निर्णय गरिएको छ ।
अब उद्धार उडानको अनुमति पनि प्राधिकरणको प्रधान कार्यालयबाटै प्रदान हुने भएको छ । यी सबै उडानको साप्ताहिक रूपमा समीक्षा गरेर हवाई सुरक्षा बढाउने काम हुनेछ ।
हेलिकोप्टरको उडान सञ्चालन अनुमति दिँदा प्रस्थान बिन्दु वा अवतरण बिन्दुमध्ये कम्तीमा एक ठाउँमा विमानस्थल हुनुपर्ने व्यवस्था गरिएको छ । कुनै एउटा एयरपोर्टबाट उडेको हेलिकोप्टर टावरसँग समेत सम्पर्क नगरी दिनभर उडाउने र साँझ मात्र पार्किङ गर्न विमानस्थलमा फर्काउने प्रवृत्तिलाई रोक्न क्यानले यो निर्णय गरेको छ ।
हेलिकोप्टरका पाइलटले उडान वा अवतरणमध्ये एक काम अनिवार्य विमानस्थलमा रहेको हेलिपोर्टमा गर्नुपर्नेछ । प्राधिकरणले चालू मनसुन अवधिभर (सेप्टेम्बरसम्म) विशेष प्रकृतिका हेलिकोप्टर उडान माउन्टेन फ्लाइट, सिलिङ उडान (सामान झुन्डाएर गरिने उडान) र पुष्पवृष्टि उडानहरू सञ्चालन गर्न निषेध गरेको छ । बर्सातको समयमा पानी परेका वेला यस्ता उडान गर्दा जोखिम बढ्ने प्राधिकरणको ठहर छ ।
प्राधिकरणले हेलिकोप्टर कम्पनीको मालिकसमेत रहेका पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको छ । सेयरधनी लगानीकर्ताका रूपमा हेलिकोप्टर कम्पनीको सञ्चालक रहेका र अहिले उडानसमेत गर्दै आइरहेका हेलिकोप्टर चालकलाई व्यावसायिक उडानमा रोक लगाउने निर्णय भएको प्राधिकरणले जनाएको छ । आफैँ सञ्चालक रहेका पाइलटले हेलिकोप्टर उडाउँदा लागत घटाउनका लागि सर्ट रुटमा उडान गरी जोखिम मोल्ने गरेको प्राधिकरणको आरोप छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया