पारिवारिक दु:खमा परेका प्रचण्डालाई सभापति देउवाले दिए बलियो साथ

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की धर्मपत्नी सीता दाहालको निधन भएकोप्रति गहिरो दु:ख व्यक्त गरेको छ ।

बुधबार शोक वक्तव्य जारी गरेर कांग्रेसका सभापति शेरबहादुर देउवाले सीता दाहालको ६९ वर्षको उमेरमा उपचारका क्रममा अस्पतालमा भएको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गरेका हुन् ।

देउवाले गहिरो दु:ख व्यक्त गर्दै भनेका छन्, ‘नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की जीवनसंगिनी, पार्टीकी नेतृ तथा केन्द्रीय सल्लाहकार सीता दाहालको निधनको खबरले स्तब्ध भएको छु ।’

‘उहाँको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना साथ प्रचण्डजी लगायत शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु’, सभापति देउवाले भनेका छन् ।

सीता दाहालको बुधबार बिहान थापाथलीस्थित निजी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्यष्टि गरिएको छ ।

कांग्रेसका सभापति देउवाले मानवीयता, असल साथीका साथै राजनीतिक संस्कारअनुसार केन्द्रीय कार्यसमितिको बुधबारको बैठक स्थगित गरेका छन् । असल साथीले देखाउनुपर्ने संस्कार देखाएर सभापति देउवाले प्रधानमन्त्री दाहालप्रति समवेदना प्रकट गरेका छन् ।

देउवाले दाहालको दु:खमा साथ दिएर पीडालाई केही कम गर्ने प्रयास गरेका छन् । सभापति देउवा बिहानै आफ्नी पत्नी डा.आरजु राणासँगै अस्पताल पुगेर प्रधानमन्त्री दाहाललाई सहानुभूति दिनुका साथै सीताप्रति श्रद्धाञ्जलि प्रकट गरेका थिए ।

Published : Wednesday, 2023 July 12, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया