डा.आरजु राणाले भुटानी काण्डमा स्ट्रोङ रुपमा दिइन् तर्क, षड्यन्त्रकारीहरूलाई तनाब

काठमाडौं । नेपाली कांग्रेसकी सांसद तथा केन्द्रीय सदस्य डा.आरजु राणाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी छिन् ।

सोमबार प्रतिनिधिसभाको बैठकपछि नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै डा.राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी हुन् ।

आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनाबद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै डा.राणाले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको बताइन् ।

उनले नेपाल प्रहरीले तथ्यहीन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले भनेकी छिन्, ‘दुइटा कुरा म भन्न चाहन्छु । त्यो मान्छे यो केशमा मुछिएको मान्छे हो । उसले जे भनेको छ त्यो गलत भएको र उ आफैले पनि स्वीकार गरेको छ ।’

‘मलाई फलानो फलानो दुइटा मान्छेको नाम ल्याएको छ । एकजना बुढाथोकी र एकजना रेग्मी भन्नेले प्लान ‘बी’मा मलाई यसो यसो भन भनेकाले मैले भनेको हुँ । मैले उहाँलाई चिन्दिन भन्ने उहाँले पुलिसमा पनि त्यही बयान दिनुभएको छ’, डा.राणाले भनेकी छिन् ।

‘कोर्टमा पनि त्यही बयान दिनुभएको छ । दुइटा भएकाले तपाईहरूले कोर्टबाट बयान लिन पनि सक्नु हुन्छ’, उनले भनेकी छिन् ।

‘मिडियाको मान्छे पनि उठाउनै पर्ने प्रश्न के हो भने पुलिसकोमा भएको टेप, जुन चाहिँ ४ गते नै उहाँलाई म चिन्दिन भनेर वैशाख ४ गते बयान रेकर्ड भएको रहेछ । त्यो पनि कोर्टमा दिएको डकुमेन्टमै सामिल छ । ४ गते उसले म चिन्दिन भनेको टेप १६ गते पुलिसबाट बाहिर आयो ? यो मेरो लागि पनि ठूलो प्रश्न हो’, उनले भनेकी छिन् ।

‘भोलि सोझा जनतालाई फसाउने हो भने जब यो गलत हो भनेर थाहा पाउँदा पाउँदै बाहिर प्रेसमा लिक भन्ने कुरा प्रश्न चिन्ह मेरो मनमा पनि छ’, डा.राणाको भनाइ छ ।

‘मैले बाहिर आउनु पर्छ भनेर भनेको कुरा त कसले बोलेको हो ? भनेर बाहिर आउनुपर्छ भनेको हो । जब उनीहरूलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर यो किन बाहिर आयो ? तपाईलाई भोलि कसैले पनि आरोप लगाएर पछि पुलिसले सोध्दा होइन त्यो भनेर थाहा पाएपछि बाहिर ल्याउनु मिल्छ त ? गलत कुरा, यो तथ्य होइन भने किन बाहिर ल्याइयो ? मेरोविरुद्ध साजिस हो ?’, उनले प्रश्न गर्दै भनेकी छिन् ।

‘कहाँ थियो मेरो स्वर ? तपाईले सुन्नुभएको छ ? मेरो स्वर होइन । दुई जना केटा मान्छे कुरा गरेको छ । केटी मान्छेको स्वर छ र ?’, उनले प्रश्न गर्दै भनेकी छिन् ।

‘मैले नै पुलिसलाई भनेको हो । निवेदन दिएको छु । जवाफ के हो भनेर दिँदा उसले दुई वटा कुराको जवाफ दियो । भ्याइस त्यसकै हो । त्यसले बोलेको कुरा कोर्टमा सुरक्षित छ भनेर भनेपछि कोर्टको जुन बयान छ तपाईहरू लिएर हेर्नुस् उसले के भनेको छ ? यो यो कुरा हो, यो मान्छेले पहिला नै तिमीलाई फोन आउँछ फोन आउँदा यो यो कुरा भन्नु है भनेको छ । उहाँहरूलाई चिन्दैन भनेर बयान दिएको छ’, उनले भनेकी छिन् । कांग्रेस नेतृ राणाले भनेकी छिन्, ‘मैले भने ! नखाएको बिस लाग्दैन साथीहरू ।’

Published : Monday, 2023 July 10, 9:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया