असुरक्षित बन्यो सिन्धु विकास बैंक, करोडौं रुपियाँ हरायो, रुक्सा पक्राउ, बाँकी फरार

काठमाडौं । सिन्धु विकास बैंकको ठगीको ठूलो काण्ड बाहिर आएको छ ।

बैंकका चार जना महिला कर्मचारीहरूले निक्षेपकर्ताको करोडौं रुपियाँ हिनामिना गरेपछि प्रहरीमा मुद्दा पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख (एसपी) बालनरसिंह राणल बैंकबाट रकम हिनामिना गरेको अभियोगमा केही व्यक्तिलाई पक्राउ गरेको बताए । उनले केही अभियुक्तहरू फरार भन्दै उनीहरूलाई छिटै पक्राउ गरिने बताएका छन् ।

सिन्धु विकास बैंककी ब्रान्च म्यानेजर रुक्सा श्रेष्ठले करोडौं रुपियाँ हिनामिना गरेकी हुन् । २०७६ सालदेखि रुक्सा श्रेष्ठ सिन्धु विकास बैंकको बाह्रबिसे शाखामा प्रबन्धक थिइन् । त्यही बेला उनले ठगी काण्डलाई अञ्जाम दिएकी थिइन् ।

रकम हिनामिना गरेको अभियोगमा रुक्सा अहिले प्रहरी खोरमा छिन् । बैंकका कर्मचारीहरू एलिसा श्रेष्ठ बस्नेत, नीतिका श्रेष्ठ र अस्पना श्रेष्ठको समूहले करोडौं रुपियाँ हिनामिना गरेको प्रारम्भीक अनुसन्धानबाट प्रहरीले पत्ता लगाएको छ ।

सिन्धुपाल्चोक प्रहरीले रुक्सा श्रेष्ठ, अस्पना श्रेष्ठ र एलिसा श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । नीतिका श्रेष्ठ फरार छिन् । प्रहरीले उनीविरुद्ध वारेन्ट जारी गरेको छ ।

रुक्सा श्रेष्ठ र पदम प्रधानबीच चिनाजानी भएपछि सिन्धु विकास बैंकको बाह्रबिसे शाखामा ठगीको काम शुरु भएकोथियो । रुक्सासँग मिलोमतोमा ठगी धन्दा चलाउने पदम प्रधान बैंकिङ कसूरका धेरै मुद्दा भोगिसकेका व्यक्ति हुन् । पदम प्रधान पेशाले सुन व्यापारी हुन् ।

पदम प्रधानले म्यानेजर रुक्सा श्रेष्ठबाट पैसा लिएर चलाउने र त्यसवापत मोटो रकम व्याज पनि दिने गरेका थिए । त्यही लोभमा परेर रुक्सा श्रेष्ठ नराम्रो तरिकाले फस्दै गएकी थिइन् ।

रुक्सा श्रेष्ठले बैंकको करीव ३ करोड रुपियाँ ठगी गरेको आरोप लागेको छ । सिन्धु विकास बैंकबाट पैसा हरायो भन्नेहरूको लामो सूची छ । बैंकलाई निक्षेपकर्ताहरूलाई बचाउन निकै समस्या भएको छ ।

सिन्धु विकास बैंकका कर्मचारीहरूको मिलेमतोमा यसअघि दोलालघाट शाखामा पनि करोडौंको घोटाला भएको प्रकरण आएको थियो ।

पदम प्रधान र रुक्सा श्रेष्ठका पति बासु श्रेष्ठ फरार छन् । उनीहरूलाई प्रहरीले खोजी गरिरहेको छ । म्यानेजर रुक्सा श्रेष्ठलाई सिन्धुपाल्चोक प्रहरीले जेठ २५ गते पक्राउ गरेको छ । अस्पना श्रेष्ठका श्रीमान् राजभाइ श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । बैंककी कर्मचारी नीतिका श्रेष्ठ फरार छिन् ।

फरार भएकाहरूविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । कुल घोटाला भएको करीव ३ करोडमध्ये १ करोड ४४ लाख रुपियाँ उठ्न बाँकी देखिएको छ ।

Published : Thursday, 2023 July 6, 11:25 am

फेसबुकबाट तपाईको प्रतिक्रिया