बालकृष्ण खाण थुनिएका बेला भाइलाई सभापति पुनले कारबाही गर्न आदेश दिए, यी तीन भाइको लाइने सुने

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणलाई कारबाही गर्न निर्देशन दिएका छन् ।

मंगलबार दाङको भालुबाङमा बसेको लुम्बिनी कांग्रेसको कार्यसमिति बैठकबाट सभापति पुनले रुपन्देही कांग्रेसका सभापति खाणलाई कारबाही गर्ने निर्णय गराएका हुन् । सभापति पुनले अनुशासन समितिलाई सभापति खाणसँग स्पष्टीकरण सोधेर कारबाही गर्न आदेश दिएको स्रोतले जनाएको छ ।

उप–सभापति राजु खनालसहितका कार्यसमितिका पदाधिकारी र सदस्यहरू लुम्बिनी प्रदेश सभाको बैठकमा गएपछि मौका छोपेर सभापति पुनले रुपन्देही कांग्रेसका सभापति खाणलाई २४ घण्टाभित्र स्पष्टीकरण सोधर कारबाही गर्न निर्देशन दिएका हुन् । पुनको यो आदेश लुम्बिनी कांग्रेसका लागि आत्मघाती हुने सम्भावना छ ।

केही दिन अगाडि रुपन्देही जिल्लामा नेविसंघको कार्यक्रममा विवाद भएको थियो । कार्यक्रममा नेविसंघका आधिकारिक अध्यक्ष सन्दीप पाण्डेलाई आशसन ग्रहण नगराएपछि विवाद भएको थियो । विवादले उग्ररुप लिँदा हातपातको अवस्था समेत सिर्जना भएको थियो ।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले रुपन्देहीको नेविसंघमा सन्दीप पाण्डेलाई मनोनयन गरेर आधिकारिता दिएका छन् । लुम्बिनी कांग्रेसका सभापति पुन निकट मानिने शम्शेर खड्काले नेविसंघको समानान्तर कार्यसमिति बनाएर अराजक शैलीमा गतिविधि गर्दै आएका छन् ।

सभापति पुनले नेविसंघको अराजक समूहलाई साथ दिएर आधिकारिक नेविसंघका विरुद्ध गतिविधि गरेपछि आलोचना भएको छ ।

मंगलबार बसेको लुम्बिनी कांग्रेसको कार्यसमिति बैठकमा प्रदेश सदस्यहरू प्रकाश राना, विष्णु पोखरेल र रमेश खनालले नेविसंघको विवादलाई लिएर रुपन्देही कांग्रेसका सभापति रामकृष्ण खाणलाई कारबाही गर्न माग गरेर बबण्डर मच्चाएका थिए ।

रमेश खनाल, विष्णु पोखरेललाई गएको प्रतिनिधि सभाको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन अन्तरघात गरेको उजुरी परेको छ । उनीहरूलाई रुपन्देही कांग्रेसले अन्तरघाती भनेर कारबाही समेत गरेको छ । उनीहरूलाई सभापति पुनले निलम्बनको कारबाही गरेर थप कारबाहीका लागि केन्द्रमा पठाउनुपर्नेमा आलटाल गरेर संरक्ष गरेका छन्् ।

उनीहरूको मागपछि सभापति पुनले अनुशासन समितिलाई छिटो स्पष्टीकरण सोधेर कारबाहीको निर्देशन दिएका हुन् । रुपन्देही कांग्रेसप्रति लुम्बिनी कार्यसमितिका सभापति पुन सकारात्मक छैनन् । सभापति पुन महामन्त्री गगन थापा निकट मानिन्छन् । सभापति खाण कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणका भाइ हुन् । उनी संस्थापन समूहका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाण पक्राउ परेपछि महामन्त्री थापाले सार्वजनिक रुपमा निलम्बनको माग गरेका थिए ।

केन्द्रीय सदस्य डा.गोविन्द पोखरेलसहितका नेताहरूले बालकृष्ण खाणलाई पक्राउ गरेको खुसीयालीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर बधाइ दिएका थिए ।

बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेला लुम्बिनी कांग्रेसका सभापति पुनले रुपन्देही कांग्रेसका सभापति खाणमाथि अनुशासनको कारबाही गरेर फाल्न खोजेका छन् ।

Published : Wednesday, 2023 July 5, 8:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया