सत्ता गुमेपछि कालोनिलो बनेको एमालेले लुम्बिनीमा अराजक हर्कत देखायो, सचेतकले किताब च्याते

काठमाडौं । लुम्बिनी प्रदेश सभाको बैठकमा एमालेले ठूलो उत्पात मच्चाएर हैरान बनाएको छ ।

मंगलबार देउखुरीको मसुरियास्थित प्रदेश सभाको भवनमा बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा एमालेका सांसदहरूले नारावाजी गरेर संसद अवरोध गरेका छन् । उनीहरूले संसद बैठक स्थलबाट नारावाजी गरेर बाहिर प्राङ्गणसम्म आएर नौटंक देखाएका छन् ।

लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेटप्रति असहमति जनाउँदै एमाले विरोध गरेको छ । सरकारको आफूले नेतृत्व गरेका बेला एमालेले ल्याएको बजेटको नेपाली कांग्रेसले रचनात्मक सहयोग र आलोचना गरेको थियो ।

आफ्नै अहँकारका कारण प्रतिपक्षमा पुगेको एमालेले प्रतिशोधपूर्ण व्यवहार लुम्बिनी प्रदेशमा देखाएको छ । प्रदेश सरकारको नेतृत्वको गरिरहेको कांग्रेसले एमालेसँग निरन्तर वार्ता र सम्वाद गरिरहेको छ । तर, एमाले सहमतिमा आउन चाहेको छैन ।

असार १३ गतेदेखि शुरु भएको चार वटा बैठकमा एमालेले असन्तुष्टि पोखेर प्रदेश सभा बैठक अवरुद्ध गरेको छ ।

एमालेले लुम्बिनी सरकारले आर्थिक वर्ष २०८०/८१ का लागि ल्याएको बजेट एकलौटी भएको, क्रमागत योजनामा बजेट नराखिएको, कतिपय निर्देशनालय खारेज गरिएको र गौरवका योजनामा कम बजेट छुट्याएको भन्दै एमालेले विरोध जनाएको छ ।

एमालेको बहिस्कारका बाबजुद प्रदेशसभामा बजेटमाथि छलफल गराइएको छ । प्रतिपक्षको नाराबाजीकै बीचमा अर्थमन्त्रीले बजेटसम्बन्धी प्रस्ताव पेश गर्ने, सत्तापक्षका सांसदले छलफलमा भाग लिने र पारित गर्ने काम भएका छन् ।

सोमबार अर्थमन्त्री धनबहादुर मास्कीले प्रदेशसभामा पेश गरेको लुम्बिनी प्रदेशसभा सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्मा व्यवस्था गर्न बनेको विधेयक पारित भएको थियो ।

मंगलबार आफूले राखेका मागहरू सरकारले नसुनेको भन्दै एमालेले दिनभर सदन अवरुद्ध जारी राखेर हैरान बनाएको छ ।

एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले प्रदेशसभा बैठकमा बजेट पुस्तिका नै च्यातेर अराजक हर्कत देखाएका छन् ।

प्रदेशसभाबाट नाराबाजी गर्दै एमाले प्रदेशसभा सदस्यहरु बाहिरिएपछि प्रदेशसभा बैठक जारी रहेको थियो ।

एमालेले बजेटमा लुम्बिनी प्रदेश सरकारलाई असहयोग गरेर ढाल्न सकिन्छ कि भनेर असफल प्रयास गरेको छ । एमालेको यो प्रयास कदापि सफल हुनेछैन । लुम्बिनी प्रदेशको सरकारबाट छोटो समयमा सत्ता गुमाएको एमालेले राजनीतिक प्रतिशोध देखाएको आरोप छ ।

यसैबीच, एमाले र सत्तापक्षबीच बुधबार प्रदेशसभा बैठक बस्ने गरी सहमति भएको छ । आर्थिक वर्ष २०८०र८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धको व्यवस्थापन गर्न बनेको विधेयकमाथि दफावार छलफलका क्रममा सदनबाट बाहिरिएको एमाले बुधबार १ बजे बैठक बस्नको लागि सहमत भएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।

दफावार र शैद्धान्तिक छलफलका क्रममा उठेका विषयलाई सम्बन्धित मन्त्रीहरूले जवाफ दिने उनले जानकारी दिए ।

एमाले बाहिरिएको बैठकमा सांसदहरू निमा गिरी, सञ्जु कुमारी चौधरी, तारा थापाले बोलेका थिए । उनीहरूले संसदीय मर्यादाविपरीत एमालेका सांसदहरूले बजेट पुस्तीका च्यात्नु र बैठक बहिस्कार गरेको भन्दै आपत्ति जनाएका थिए ।

Published : Tuesday, 2023 July 4, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया