अध्यक्ष लिङ्देनद्वारा ‘नवीन राप्रपा’का लागि सात संयोजकहरू चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नवीन राप्रपा–२०८० का लागि सात प्रदेशमा संयोजकहरू तोकेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नवीन राप्रपा–२०८० को कार्ययोजना कार्यान्वयन गर्न संयोजकहरू चयन गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष रोशन कार्कीलाई कोशी प्रदेशको संयोजकको जिम्मेवारी दिइएको छ । उपाध्यक्ष बुद्धिमान तामाङ्गलाई मधेश प्रदेशको संयोजक बनाइएको छ ।

उपाध्यक्ष बिक्रम पाण्डेलाई बागमती प्रदेशको संयोजक, उपाध्यक्ष ध्रुबबहादुर प्रधानलाई गण्डकी प्रदेशको संयोजक बनाइएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।

वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई लुम्बिनी प्रदेशको संयोजक, उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई कर्णाली प्रदेशको संयोजक र उपाध्यक्ष उद्वब पौडेललाई सुदूरपश्चिम प्रदेशको संयोजक बनाइएको विज्ञप्तिमा उल्लेख छ ।

राप्रपाको केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट नवीन राप्रपा–२०८० को कार्ययोजना कार्यान्वयन गर्ने निर्णय भएको थियो ।

Published : Tuesday, 2023 July 4, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया