प्रदीपले प्रचण्ड सरकार हल्लाइदिए, आले र जीवनराम जस्तो हुतिहारा मन्त्री होइनन् किराँती

काठमाडौं । घुमाउरो बाटोबाट नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पद हत्याएका प्रदीप अधिकारीले अटेरी कार्य गरेर सरकारलाई चुनौति दिएका छन् ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई रिझाएर महानिर्देशक पद कब्जा गरेकार अधिकारीलाई अहिले आएर महानिर्देशक पदले निकै तनाब दिएको छ । सबै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीहरू प्रेम आले वा जीवनराम श्रेष्ठ जस्ता हुँदैनन् । सुदन किराँती जस्ता ईमान्दार मन्त्री पनि हुन्छन् ।

आले र श्रेष्ठलाई गुटुमुटु बनाएर प्राधिकरणभित्र हालिमुहाली गर्दै आएका महानिर्देशक अधिकारीका कर्तुतहरू हालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री किराँतीलाई राम्रोसँग जानकारी छ ।

प्राधिकरणको महानिर्देशक बनेर आउनेवित्तिकै नेपाली आकाशमा ठूला दुर्घटनाहरू भएका छन् । ती दुर्घटना हुँदा समेत प्राधिकरणको महानिर्देशक अधिकारीमाथि कुनै छानविन भएन । बरु अधिकारीले आफू खुसी पशुपतिनाथको साँढेले जस्तै हर्कत गरिरहे । मन्त्री किराँतीलाई त्यो कुरा मन परेन । नेपाली आकाश सुरक्षित बनाउन र प्राधिकरणभित्रको बेथिति सुधार गर्न अधिकारीलाई ९ बुँदे स्पष्टीकरण सोधका छन् ।

पर्यटनमन्त्री किराँतीले गत मंगलबार महानिर्देशक अधिकारीको कार्यक्षमता र कार्यशैलीमाथि प्रश्न उठाउँदै ९ बुँदे स्पष्टीकरण सोधेका थिए । तर, अधिकारीले जवाफ पेस गरेका छैनन् । बरु सामाजिक सञ्जालमार्फत मन्त्री किराँतीलाई चुनौति दिएर आफ्नो औकात देखाएका छन् ।

मन्त्री किराँतीले उक्त स्पष्टीकरणको जवाफ सात दिनभित्र मागेका थिए । लगात्तै महानिर्देशक अधिकारीले मन्त्रालयको पत्रमा अत्यन्त जरुरी वा गोप्य पत्र भनि लेखेर सोध्नु पर्ने स्पष्टीकरण सामाजिक सञ्जाल फेसबुकका पानामा पोष्ट गरिएकाले ती स्पष्टीकरणको जवाफ आफूले दिन नसक्ने बताएका थिए ।

‘फेसबुकका भित्तामा पोष्टिएका स्पष्टीकरणको जवाफ मैले दिँदैन, स्पष्टीकरण सोध्ने पनि नियम, कानून र तरिका होला नी, फेसबुकभरि सोधिएका स्पष्टीकरणको मैले कसरी जवाफ दिनु ?’ अधिकारीले भनेका थिए ।

स्पष्टीकरणको जवाफ नदिने अडान लिएका महानिर्देशक अधिकारीले सोमबार सामाजिक सञ्जालमा नागरिक उड्डयन प्राधिकरण स्वायत्त निकाय रहेको समेत उल्लेख गरेका छन् ।

अधिकारीलाई बचाउन पूर्वमन्त्री आले निकै खुलेर लागेका छन् । अधिकारीलाई गंगा दाहालमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गराएको चर्चा पनि छ । अधिकारीले आफू निकटका व्यक्तिहरूलाई मन्त्रीलाई फाल्न र आफ्नो महानिर्देशक पद बचाउन १५ करोडसम्म खर्च गर्न तयार रहेको बताउने गरेका थिए । अधिकारीले ‘कि किराँती छैन, कि म छैन’ भनेर धम्की दिने पनि गरेका थिए ।

मन्त्री किराँतीसँग टसल गरेर महानिर्देशक अधिकारीले प्राधिकरणभित्र कसरी काम गर्छन् हेर्न बाँकी छ । अधिकारीलाई महानिर्देशक पदबाट राजीनामा दिएर शान्तिपूर्ण निकास खोज्दा राम्रो हुने सुझावहरू आउन थालेका छन् ।

भित्री कुरा जे भए पनि महानिर्देशक अधिकारीले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई हल्लाइदिएका छन् । प्रचण्ड सरकार महानिर्देशक अधिकारी समक्ष निरीह बनेको छ ।

Published : Tuesday, 2023 July 4, 2:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया