आषाढ पूर्णिमाको अवसरमा भारतीय दूतावासभित्र विशेष कार्यक्रम

काठमाडौं । ‘आषाढ पूर्णिमा’को पावन अवसरमा भारतीय राजदूतावास, काठमाडौंले अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावासस्थित स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रमा संयुक्त रुपमा विशेष कार्यक्रम गरेको छ ।

समारोहमा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शुशिला सिर्पाली ठकुरीको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरूको सहभागिता रहेको भारतीय राजदूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेद परिसंघ प्रतिनिधिको रुपमा उपस्थित रहेका थिए ।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँच जना तपस्वी चेलालाई दिएको पहिलो उपदेशलाई आषाढ पूर्णिमाको दिनविशेष स्मरण गरिन्छ ।

यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा चिनिन्छ । सो उपदेशमा भगवान बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’बारे बताएका छन् ।

कार्यक्रममा महायाना संघ र थेरावडा संघले भगवान बुद्धको प्रार्थना गरेका छन् । तत्पश्चातचार बौद्ध सूत्रको प्रार्थना गरिएको छ ।

अन्तर्राष्ट्रिय बौद्ध परिसंघका सचिव खेन्पो छिमेदले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्नुका साथै सो कार्यक्रमको महत्वबारे प्रकास पारेका छन् ।

राज्यमन्त्री सिर्पालीले बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धनमध्येको एक भएको बताइन् । उनले बौद्ध र अन्यधार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छिन् ।

दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरूले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए ।

लुम्बिनी गुम्बा क्षेत्रमा निर्माण हुने भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति तथा सम्पदा केन्द्रको डिजाइन तथा विशेषताबारे तयार पारिएको भिडियो पनि प्रस्तुत गरिएको छ ।

सन् २०२२ को मे महिनामा बुद्ध पूर्णिमाको अवसरमा भएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री मोदी र नेपालका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त रुपमा सो केन्द्रको शिलान्यास गरेका थिए ।

सो अवसरमा भारत र नेपालका विभिन्न धार्मिक महत्वका बौद्ध स्थलहरूको प्रदर्शनी पनि राखिएको थियो ।

Published : Tuesday, 2023 July 4, 9:21 am

फेसबुकबाट तपाईको प्रतिक्रिया