बालुवाटारमा १५ करोडले कमाल देखाएको चर्चा, प्रदीपले मन्त्रीलाई टेरेनन्

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीद्वारा सोधिएको स्पष्टीकरणको जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दिन अस्वीकार गरिदिएका छन् ।

आर्थिक नोक्सानी, गैरजिम्मेवार अभिव्यक्ति तथा क्रियाकलाप र जिम्मेवारी निर्वाहमा असफलताको आरोप लगाउँदै मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण साधेका थिए ।

मन्त्री किरातीले असार ११ गते महानिर्देशक अधिकारीलाई एक साताभित्र जवाफ पेस गर्न भन्दै गत मंगलबार ९ बुँदे स्पष्टीकरण सोधेका थिए ।

प्राधिकरणका महानिर्देशक अधिकारीले स्पष्टीकरण बुझाउने समयसीमा सोमबारसम्म भएको तर साँझसम्म पनि मन्त्रालयमा स्पष्टीकरण विधिवत् दर्ता नभएको स्रोतले जनाएको छ ।

महानिर्देशक अधिकारीले आफ्नो ट्विटर पेजमा ‘नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा ४ अनुसार प्राधिकरण एक स्वायत्त निकाय रहेको’ लेख्दै प्रस्टीकरण बुझाउन नमिल्ने संकेत दिएका छन् ।

महानिर्देशक अधिकारीले यसअघि स्पष्टीकरण सोधिएकै दिन प्राधिकरणको महानिर्देशकलाई मन्त्रिपरिषदले नियुक्त गर्ने भएकाले मन्त्रिस्तरीय निर्णयबाट स्पष्टीकरण सोध्ने अधिकार मन्त्रीमा नरहेको प्रतिक्रिया दिएका थिए ।

मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रुपमा छुट्याउने नीतिको प्रतिकूल हुनेगरी चुनौती दिएको, नेपालमा हवाई उडान सुरक्षाको प्रत्याभूति गर्ने प्रमुख जिम्मेवार अधिकारी भए पनि महानिर्देशक भएपछि नेपाली दर्ताका २ वटा यात्रु विमानहरू र ३ वटा हेलिकप्टरहरू दुर्घटना भई धनजनको क्षति भएको भनेर स्पष्टीकरण सोधेका थिए ।

किराँतीले वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को सिद्धान्तविपरीत दुर्घटनापछि प्रतिक्रियामा जाने गरेको, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले अप्रिल १३ देखि २५, २०२२ मा गरेको नेपालको उड्डयन सुरक्षा परीक्षणमा भएको सिफारिसविपरित कार्यात्मक विभाजन नै पर्याप्त छभन्ने अभिव्यक्ति दिएको लगायत आरोप लगाउँदै महानिर्देशक अधिकारीसँग स्पष्टीकरण सोधेका थिए ।

विमानस्थलहरूको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्यान्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायत गर्नुपर्ने सम्पूर्ण पूर्वतयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा ल्याएको, परीक्षण उडान गराई सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरबाही गराएको लगायत विषय पनि स्पष्टीकरणमा समेटिएका थिए ।

स्पष्टीकरण सोधिएको प्रकरणमा बालुवाटार र मन्त्रीबीच मतभेद छताछुल्ल भएको छ । महानिर्देशक अधिकारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की स्वकीय सचिव तथा छोरी गंगा दाहालनिकट रहेका छन् ।

मन्त्री किराँतीले स्पष्टीकरण सोधेपछि अधिकारीलाई दाहालले प्रधानमन्त्रीसँग भेट गराएको बालुवाटार स्रोतले जनाएको छ । प्रधानमन्त्रीलाई भेटेपछि अधिकारीले कारबाही नहुने आश्वासन पाएका थिए ।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन माओवादीको कुनै एक मन्त्री फिर्ता बोलाउने तयारी गरिएको छ । सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा समेत यस विषयमा सहमति बनिसकेको छ ।

मन्त्री किराँती ब्याक हुन सक्ने आँकलन गरिएको छ । बालुवाटारको आश्वासन र मन्त्री नै फिर्ता हुने भएपछि अधिकारीले स्पष्टीकरणको जवाफ नदिने अडान लिएका हुन् ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणपछि मन्त्री किराँतीले दिएको अभिव्यक्तिपछि बालुवाटार र किराँतीको सम्बन्ध चिसिएको छ । महानिर्देशक अधिकारीले मन्त्री किराँतीसँगको लडाइँमा आफू १५ करोडसम्म खर्च गर्न तयार रहेको आफू निकटका व्यक्तिहरूसँग बताएका थिए । मन्त्री किराँतीको स्पष्टीकरणको जवाफ नदिएका अधिकारीलाई बालुवाटारले नै बोकेका कारण ठूलो उत्साह थपिएर जवाफ नदिएको चर्चा चलेको छ ।

Published : Monday, 2023 July 3, 11:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया