ईन्स्पेक्टरको ‘सेक्सी’ कुराले खैलाबैला, महिलाको नाङ्गो तस्वीर मागे

काठमाडौं । महिला प्रहरीलाई सेक्सी कुरा लेखेर पठाएको अभियोगमा नेपाल प्रहरीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) कारबाहीमा पर्ने भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत ईन्स्पेक्टर सुवास तिमिल्सिनाले मातहतकै महिला प्रहरीलाई आपत्तिजनक म्यासेज पठाएपछि कारबाही प्रक्रिया अगाडि बढेको हो । ईन्स्पेक्टर तिमिल्सिनामाथि छानबिन प्रक्रिया अगाडि बढेको छ ।

पीडित महिला प्रहरीले ईन्स्पेक्टर तिमिल्सिनाले पठाएको भनिएको म्यासेजको स्क्रिनसट ट्विटरमा पोष्ट गरेकी छिन् । महिलाले आफूलाई ईन्स्पेक्टर तिमिल्सिनाले असुरक्षित बनाएको उल्लेख गरेकी छिन् ।

‘अब बोल्ने’ नामक ट्विटर ह्याण्डलमा स्क्रिनसट पोष्ट गर्दै ती महिलाले लेखेकी छिन्, ‘नेपाल प्रहरीको शक्तिमार्फत सुरक्षा सेवकले नै महिलामा असुरक्षा सिर्जना गरिरहेका छन् ।’

महिलाले पोष्ट गरेको स्क्रिनसटमा तिमिल्सिनाले आफू ती महिला प्रहरीको शरीरको फ्यान भएको, फोटो पठाउन अनुरोध गरेका लगायत म्यासेज छन् ।

ट्विटर ह्याण्डलमा उक्त विवरण सार्वजनिक भएलगत्तै कास्की प्रहरीले छानबिन गर्न समिति गठन गरेको छ ।

प्रहरी नायब उपरीक्षक (डीएसपी)को संयोजकत्वमा ईन्स्पेक्टरदेखि प्रहरी जवानसम्म सदस्य रहेको छानबिन समिति गठन गरेको कास्कीका प्रहरी प्रमुख एसपी अजय केसीले बताएका छन् ।

ईन्स्पेक्टरले म्यासेज पठाएको हो कि होइन त्यो विषयमा साइबर ल्याबबाटै छानबिन गरिने एसपी केसीले बताएका छन् ।

ईन्स्पेक्टर तिमिल्सिना दोषी पाइएमा कारबाही गर्ने एसपी केसीले चेतावनी दिएका छन् ।

इन्स्पेक्टर तिमिल्सिनाले म्यासेज पठाएको भनिएको इन्स्टाग्राम अकाउन्ट उनको हो कि होइन भन्ने यकिन गर्न छानबिन समितिलाई निर्देशन दिएको छ । प्रहरीको साइबर व्यूरोलाई अनुसन्धान गर्न अनुरोध गरिएको छ ।

तिमिल्सिनाले पनि एसपी केसीलाई निवेदन दिएर उक्त इन्स्टाग्राम अकाउन्ट ह्याक भएको र आफूले नचलाएको बताएका छन् ।

ईन्स्पेक्टर तितिल्सिनाले निवेदनमा भनेका छन्, ‘मैले चलाउँदै आएको इन्स्टाग्राम आइडी अन्य कसैले ह्याक गरी चलाइरहेको र उक्त आइडीबाट मेरो आफन्त, मित्रहरूलाई अश्लील खालका म्यासेज गरी रहेको हुँदा उक्त व्यक्तिलाई खोजतलास गरी कानूनी कारबाही गरी पाउँ ।’

ईन्स्पेक्टर तिमिल्सिनाले इन्स्टाग्राममार्फत महिलालाई ‘तिम्रो फिगरको फ्यान हुँ’ भन्दै म्यासेज लेखेका छन् ।

स्क्रिनसट सार्वजनिक गर्दै महिलाले भनेकी छिन्, ‘सुरक्षा सेवक भएर उनले महिलामा असुरक्षा पैदा गरिरहेका छन्, नेपाल प्रहरीको शक्तिमार्फत ।’

स्क्रिनसटमा उल्लेख भएअनुसार राति ११ बजे गरिएको तिम्सिनाले फोटो पठाउन भनेका छन् । ‘ट्रस्ट मी, इट्स विट्विन अस (विश्वास गर, यो दुईजनाबीच मात्र रहनेछ)’ उनले भनेका छन् ।

पीडितले आफू र आफ्नो शरीरबारे आफू एकदम ‘प्राइभेट’ रहेको भन्दै नपठाउने भनेकी छन् ।

‘आई ह्याभ ड्यू रेस्पेक्ट टुवार्डस् यू’ भन्दै उनले फेरि फोटो पठाउन भनेका छन् । जवाफमा पीडितले ‘म कसरी विश्वास गर्नसक्छु, अहिलेसम्म भेट पनि भएको छैन’ भनेकी छन् । तिमिल्सिनाले आफ्नो ‘क्लासले पनि नराम्रो गर्न नदिने’ भन्दै उनलाई फोटो पठाउन दबाब दिएको देखिन्छ ।

तिमिल्सिनाले फेरि तिमी भिडियो कलमा सहज महसुस गर्छौं भन्दै प्रश्न गरेका छन् । पीडितले ट्वीटरमा नयाँ आईडी खोलेर यो स्क्रीनसटको विवरण पोष्ट गर्दै सञ्चारमाध्यम र प्रहरी प्रधान कार्यालय, नक्सालको ट्वीटर ह्याण्डललाई मेन्सन गरेकी छिन् ।

नेपाल प्रहरीका प्रवक्ता डीआईजी कुवेर कडायतले सामाजिक सञ्जालमा आएको विषय आफ्नो नोटिसमा आइसकेको बताएका छन् ।

ईन्स्पेक्टर तिमिल्सिनाले भनेका छन्, ‘म वैशाख, जेठतिर तालिममा काठमाडौं गएको थिएँ, त्यतिबेलादेखि बन्द आईडी मैले अहिलेसम्म चलाएको छैन ।’

उनले भने, ‘बाहिर आएपछि कोसँग कुरा गरेको होला भनेर हेर्दा त्यो पनि थाहा हुने खालको छैन ।’

Published : Monday, 2023 July 3, 11:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया