रास्वपाकी सांसद तथा उप-सभामुख रानाले संसदमा आफ्नो ठूलो फोटो राख्न माग गरिन्, अब रवाफ देखाउने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद समेत रहेकी उप–सभामुख इन्दिरा रानाले संसदमा आफ्नो फोटो पनि राख्न माग गरेकी छिन् ।

शनिबार काठमाडौंमा ६५औं संसद दिवसको अवसरमा आयोजित कार्यक्रममा रानाले संसदमा आफ्नो पनि फोटो राख्न माग गरेकी हुन् ।

संसदमा सभामुखको मात्रै फोटो रहेको भन्दै रानाले आफूप्रति पूर्वाग्रह भएर आफ्नो अर्थात उप–सभामुखको फोटो नराखेको जस्तो लागेको बताइन् ।

उनल भनेकी छिन्, ‘भित्र पस्नेबित्तिकै त्यहाँ सम्माननीय सभामुखज्यूको यत्रो फोटो राख्नुभएको छ । हाम्रो त छैन । उप–सभामुखलाई वायस गरेको जस्तो पनि लाग्छ । यो कुरा मनन गर्नुपर्छ ।’

केही समयअघि सिंगापुरको संसदको भ्रमण गरेको भन्दै उनले भ्रमणका क्रममा सभामुखको फोटो विगतदेखि वर्तमानसम्म राखेको भन्दै नेपालमा भने त्यस्तो हुन नसकेको बताइन् ।

‘अस्ति म सिंगापुर गएको थिएँ । डब्ल्युटिओको कन्फ्रेन्समा । त्यहाँ पार्लियामेन्ट भिजिट गर्ने मौका पाएको थिएँ’, उनले भनेकी छिन्, ‘त्यहाँ पहिलाका सभामुखज्यूले कस्तो टोपी लगाउनुहुन्थ्यो, कस्तो लुगा लगाउनुहुन्थ्यो ? अहिलेका सभामुखज्यूले कस्तो लगाउनुहुन्छ ? त्यो विकास क्रमअनुसार त्यसरी राख्नुभएको छ अभिलेखका रुपमा । हामीमा खै त त्यस्तो ?’

रास्वपाका सांसदहरूले व्यक्तिगत कुरालाई लिएर बेलाबेला उत्पात मच्चाउने गरेका छन् । कामभन्दा पनि रास्वपाकी सांसद समेत रहेकी उप–सभामुख रानाले संसदमा आफ्नो ठूलो फोटो राखेर सबैलाई रवाफ देखाउन खोजेकी छिन् ।

रानाले बेलाबेला विभिन्न माग र यस्तै खालका कुरा गरेर हलचल ल्याइदिने गरेकी छिन् । रास्वपाका सांसद, मन्त्रीहरूले कहिले कार्यालय राम्रो भएन भनछन्, कहिले गाडी राम्रो भएन भन्छन्, कहिले के भनेर हैरान बनाएका छन् ।

Published : Saturday, 2023 July 1, 7:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया