सभापति देउवाले मेस्सीले जस्तै फिनिसिङसहित ‘डी’ एरियाबाट ओलीको ढोक्सामा बल छिराए

काठमाडौं । एमालेले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितका दलहरूको सत्ता गठबन्धनलाई भत्काउन निकै कसरत गरेको थियो ।

कोशी प्रदेशको सरकार ढलेपछि एमालेका सबै प्रयासहरू पानी भएर बगेका छन् । एमालेलाई सत्तामा दशा लागेको छ । अल्टरको राजनीति गर्दै आएको एमाले सत्ताभन्दा बाहिर पुगेको छ । एमालेले अहिले जे गर्दा पनि त्यसको परिणाम उल्टो आउन थालेको छ ।

कांग्रेस–माओवादीको गठबन्धन भत्काउन मिडियाबाजीदेखि विभिन्न खालका प्रोगण्डा एमालेका अध्यक्ष खड्गप्रसाद ओली र एमाले नेतृ तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरेका थिए । एमालेले कांग्रेसलाई प्रधानमन्त्रीको पटक पटक प्रस्ताव पठाएको थियो । देउवाले एमालेलाई विश्वास गरेनन् । बरु प्रचण्डलाई धोका नदिने सन्देश पठाइदिए ।

सभापति देउवा धेरै बोल्दैनन् । उनी नबोलरै सबैलाई मर्म पुर्‍याइदिन्छन् । सभापति देउवाले आफ्ना नेताहरूलाई ओलीलाई नभेट्न निर्देशन नै दिएका थिए । ओलीलाई विश्वास गर्न नहुने देउवाले कांग्रेसका नेताहरूलाई बताउने गरेका छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय प्रदीप पौडेल र ज्ञानेन्द्रबहादुर कार्कीमार्फत ओली कांग्रेसभित्र छिर्न खोजेका थिए । ओलीको प्रयास असफल भएको छ ।

सभापति देउवाले प्रचण्डको पक्षमा अडान लिएपछि ओली र भण्डारीको हर्कतले गठबन्धनलाई केही लछारपाट लगाउन सकेन ।

सभापति देउवा र प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का विरुद्ध राजनीतिक खरुपाती भएका थिए । देउवाले ओलीको खुपाती हर्कतलाई शरुमै बुझेका थिए । एमालेबाट आएका हरेक प्रस्तावलाई सभापति देउवालाई ठुकराइदिए । देउवाले ओलीका हरेक प्रस्वावलाई अस्वीकार गरेपछि ओली निकै तनाबमा परेका थिए ।

ओलीले मधेश प्रदेश सरकारमा जनता समाजवादी पार्टी नेपाल (जसपा)को सरकारलाई विश्वासको मत दिएका थिए । मधेश प्रदेश सरकारलाई समर्थन गरेवापत कोशी प्रदेश सरकार बचाउन सकिन्छ कि भन्ने ओलीको ढोक्साले काम गरेन ।

केन्द्र सरकारलाई विश्वासको मत दिएर सभापति देउवाले एमाले–माओवादीको गठबन्धन भत्काइदिएका थिए । देउवाको रणनीतिलाई कपी गरेर ओलीले कोशी प्रदेशको सरकार बचाउन नखोजेका होइनन् । तर, ओली फेल भएका छन् ।

सभापति देउवाले फुटबलका विश्वचर्चित खेलाडी लियोन मेस्सीले जस्तै गरेर फिनिसिङसहित ‘डी’ एरियाभित्र बल पुर्‍याएर पोष्टमा गोल हानेका छन् ।

कोशीको सरकार ढाल्नुभन्दा अगाडि बालुवाटारमा प्रधानमन्त्री दाहाल, सभापति देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालको रणनीतिक बैठक र परामर्शहरू भएका थिए । सत्ता गठबन्धनका शीर्ष नेताहरू एक भएर ओली र एमालेको अहँकारलाई कोशी प्रदेशमा पनि परास्त गरिदिएका छन् ।

Published : Saturday, 2023 July 1, 12:25 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया