कसैको मुख नहेरी, व्यक्तिलाई फाइदा बेफाइदा पुग्ने बजेट छैन : डा.महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेटको स्रोत कम रहेकाले सबै पक्षलाई समेट्न नसकेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेसका प्रवक्तासमेत रहेका डा.महतले अन्योलताका बीचमा पनि आफूले जायज कुराहरूलाई सम्बोधन गरेर बजेट विनियोजन गरेको बताए । उनले अर्थतन्त्रलाई चलायमान गर्नसक्ने कुरालाई मध्यनजर गरी बजेट ल्याएको बताएका छन् ।

कसैको मुख नहेरी र कसैलाई फाइदा र बेफाइदा पुग्नेगरी बजेट विनियोजन नगरेको भन्दै डा.महतले निष्पक्ष रुपमा बजेट जनताका माग पूरा गर्नका लागि ल्याएको बताएका छन् ।

उनले कसौँडीमा पाक्नसक्ने चामलले जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा केही असन्तुष्टि व्यक्त भएको बताए । ‘अहिले मैले सरकारको तर्फबाट बजेट प्रस्तुत गरेँ’, डा.महतले भने, ‘अनेकौँखाले अन्योलताको बीचमा दुई महिनामा मैले बजेट ल्याउनुपर्ने स्थिति थियो ।’

‘मैले दृढ निश्चय गरेर बजेट ल्याएँ । जे जायज छ, जे उपयुक्त छ, जसले यो अर्थतन्त्रलाई चलायमान गर्नसक्छ, त्यसलाई मध्यनजर राखेर कसैको मुख नहेरिकन कसैलाई फाइदा पुग्ने, कसैलाई बेफाइदा पुग्ने गरी होइन, आम नागरिकलाई भलो हुने, अर्थतन्त्र चलायमान हुने, राजश्वलाई वैज्ञानिक ढंगबाट करको दायरामा नआएकाहरूलाई करको दायरामा ल्याउन बजेट ल्याएको छु’, उनले भनेका छन् ।

‘मैले कसैलाई फाइदा पुग्ने नपुग्ने गरी होइन, आम नागरिकको आकंक्षाअनुसार ल्याएको छु, सुशासन, पारदर्शीतालाई मध्यनजरमा राखि लोभ मोह नराखी अघि बढाएको छ’, उनले भनेका छन् ।

अर्थमन्त्री डा.महतले भने, ‘एउटा कसौँडीमा पाक्नसक्ने चामल छ, अब जन्ती बराबरलाई खुवाउनु परेको खण्डमा के हुन्छ ? ।’ अर्थमन्त्री डा.महतले नयाँ पार्टीहरूले आकाशको तारा झार्छुभन्दा पनि नागरिकहरू मान्न तयार रहने स्थिति देखिएको बताएका छन् ।

Published : Friday, 2023 June 30, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया