कांग्रेस–माओवादीसहितका दल मिलेर एमालेको सरकार ढालिदिए

काठमाडौं । कोशी प्रदेशमा एमालेको सरकार ढलेको छ । एमालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेशसभामा विश्वासको मतसम्बन्धी राखेको प्रस्ताव फेल भएको छ ।

शुक्रबार विराटनगरमा बसेको कोशी प्रदेशसभाको बैठकमा विश्वास गुमाएसँगै कोशी प्रदेशबाट कार्की नेतृत्वको सरकार ढलेको छ ।

कार्की २०७९ पुस २४ मा नियुक्त भई २५ गते शपथ लिएका थिए । विश्वासको मतको प्रस्तावको पक्षमा ४६ मत र विपक्षमा ४३ मत खसेको छ । ९३ सदस्यीय कोशी सभामा बहुमतका लागि ४७ सांसद चाहिन्छ ।

बहुमत पूरा गर्न नसकेसँगै १७४ दिनपछि मुख्यमन्त्री बाहिरिएका छन् । प्रदेशसभामा ८९ सांसद उपस्थित छन् । कार्कीको पक्षमा एमालेका ४० र राप्रपाका ६ प्रदेशसभा सदस्यले भोट हाले । विपक्षमा गठबन्धन दलमा रहेका कांग्रेसका २९, माओवादीका १२ र नेकपा (एकीकृत समाजवादी)का ४ प्रदेशसभा सदस्यले मत हालेका छन् ।

गठबन्धन घटकमा रहेको जसपाकी सांसद निर्मला लिम्बू भने बैठकमा अनुपस्थित थिइन् । कोशी प्रदेशमा अब नयाँ सरकार गठनको प्रक्रिया सुरू हुनेछ ।

कोशी प्रदेशसभाबाट विश्वासको मत नपाएका कार्कीले आफूहरू मध्यावधिको तयारीमा नभएको बताएका छन् । उनले एमाले मध्यावधिको पक्षमा नरहेको बताए । पत्रकारसँग कुराकानी गर्दै आफू प्रक्रियामा गएको बताएका छन् ।

उनले आफू संविधान र कानूनको पक्षमा रहेको देखाउन मत विभाजनमा गएको बताए । विश्वासको मत लिने कार्कीको प्रस्ताव शुक्रबार मात्र प्रदेशसभाले अस्वीकृत गरेको थियो ।

एमाले केन्द्रसहित सबै प्रदेशमा सत्ताभन्दा बाहिर पुगेको छ । एमालेको अहँकार र घमण्डले गर्दा सरकारभन्दा बाहिर पुगेको छ ।

Published : Friday, 2023 June 30, 7:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया