लिम्बुवान भोलेन्टियर्सविरुद्ध एमालेका सचिव भट्टराईले आक्रोश पोखे

काठमाडौं । एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले कालोझण्डा देखाएर प्रदर्शन गरेका छन् ।

प्रदेश १ पुन: नामकरण संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिमले एमालेका नेता भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताएका छन् ।

एमालेका सचिव भट्टराई ७२ औँ मदन भण्डारी जन्मजयन्तीको अवसरमा आजको लोकतन्त्र, उपलब्धि र चुनौती विषयक अन्तरसंवादमा भाग लिन इलाम पुगेका थिए ।

कार्यक्रममा कांग्रेस नेता गुरुराज घिमिरे र भट्टराईले सम्बोधन गर्ने कार्यक्रम थियो ।

भट्टराईलाई कालोझण्डा देखाएका पहिचान पक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

सचिव भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरूले पहिचान विरोधी होसियारभन्दै कालो झण्डा प्रदर्शन गरेका छन् ।

एमाले सचिव भट्टराईले पार्टी र पार्टी नेतृत्वमाथि हमला गरेर कोशी प्रदेशको समस्या हल नहुने बताएका छन् ।

भट्टराईले उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका आफूहरूलाई मान्य नहुने बताएका हुन् ।

‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ। उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन’, भट्टराईले भनेका छन् ।

उनले भने, ‘एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन । एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।’

Published : Thursday, 2023 June 29, 7:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया