ओलीले थापेका ‘ढोक्सा’हरूले नराम्रोसँग हावा खायो, घण्टी कांग्रेसको भरपर्दा बालकोटलाई धोखा

काठमाडौं । माओवादी केन्द्र र नेपाली कांग्रेससहितका दलहरूको गठबन्धनको सरकार गिराउन एमालेले ठूलो कसरत गरिरहेका बेला आर्थिक वर्ष ०८०/८१ को बजेट पारित भएको छ ।

बजेट वक्तव्यसहितको विनियोजन विधेयक २०८० मा एमालेले संसदमा सरकारको शक्ति परीक्षण गराएको छ । एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले बजेटका कारण सरकार ढल्छकि भनेर ढोक्सा थापेका थिए । ओलीको ढोक्साले हावा खाएको छ ।

घण्टी कांग्रेस अर्थात नेपाली कांग्रेसका केही सांसदहरूको विरोधलाई लिएर ओलीले बजेट फेल हुन्छ कि भन्ने आशा राखेका थिए । बालकोटमा कांग्रेसका घण्टी कांग्रेसहरूलाई भेटेका ओलीलाई अन्तिम समयमा धोखा भएको छ ।

बजेटमा सत्तारूढ दलका केही सांसदहरूको असन्तुष्टि देखिएको थियो । त्यही असन्तुष्टिलाई आधार बनाएर प्रमुख विपक्षी दल एमालेले सरकारको शक्ति परीक्षण गराएको छ । बजेट फेल हुन्छ कि भन्ने एमालेको आशंका गलत सावित भएको छ ।
प्रतिनिधिसभाबाट विधेयक संशोधनसहित बहुमतले पारित भएको छ ।

बहुदलपछि सदनबाट बजेटहरू ध्वनिमतका आधारमा पारित हुँदै गएकोमा यसपालि मत विभाजन गरेर विनियोजन विधेयक पारित गरिएको छ ।

प्रतिनिधिसभामा बुधबार ध्वनिमतबाट बजेट पारितको घोषणा सभामुख देवराज घिमिरेले गर्दा प्रमुख प्रतिपक्षी एमालेका सांसद उठेर मत विभाजनको माग गरेका थिए ।

एमालेले ध्वनिमत हेर्दा बजेटको विपक्षमा बहुमत देखिएको आफूहरूलाई लागेको भन्दै मत विभाजन माग गरेको थियो । एमालेको मागअनुसार विनियोजन विधेयकको निर्णयलाई मतदानमा लगेको थियो ।

२ सय ५५ सांसद उपस्थित रहेकोमा एक सय ४७ सांसदले बजेट विधेयकको पक्षमा मतदान गरेका छन् । एक सय आठ सांसदले विपक्षमा मतदान गरेका छन् । जनमत पार्टीले बजेटलाई बहिष्कार गरेको छ ।

सत्तारूढ दलकै सांसदले विरोध गरेकाले मत विभाजन गराउँदा बजेट फेल हुने र सरकारमाथि नैतिक प्रश्न उठ्ने आकलन गरेर एमालेले मत विभाजनको अस्त्र फ्याँकेको थियो ।

एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले सरकार आलोकप्रिय देखिएको बताएका छन् ।

‘हामीले आफ्नो मत स्ट्यान्ड देखायौँ’, उनले भने, ‘प्रधानमन्त्रीमाथिको विश्वास देखियो, ९९.९९ प्रतिशतबाट ५३ प्रतिशतमा झर्‍यो । अरू त्यसमा केही भनिरहनुपरेन ।’

नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बजेटमा मत विभाजन गर्नु अपवाद भएको बताएका छन् ।

‘अहिलेसम्मको अभ्यासमा बजेटमै प्रतिपक्षले डिभिजन मागेको छैन’, लेखकले भने, ‘ध्वनिमतबाट पारित भइसकेपछि माग्न हुन्थेन । माग्नै नपाइने होइन, नियमावलीले व्यवस्था गरेको छ ।’

‘अर्काे कुरा, बजेटमा सत्तापक्षले हुन्छ भन्ने र विपक्षी मौन बस्ने हो’, नेता लेखकले भने, ‘विपक्षी आक्रामक रूपमा आयो, सत्ता गुमेको पीडाले हो कि सदनमा के गर्न हुन्छ, के गर्नुहुन्न भन्ने विवेकपूर्ण निर्णय भइरहेको छैन ।’

‘विचलित मानसिकता देखियो’, लेखकले भने, ‘अपोजिसन जिम्मेवार हुन सकेको छैन ।’

आगामी आर्थिक वर्षमा सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट व्यय हुने रकम विनियोजन तथा खर्च गर्ने अधिकार दिनका लागि अर्थमन्त्री डा.प्रकाशशरण महतले जेठ १५ गते सदनमा प्रस्तुत गरेको बजेट वक्तव्यमाथि करिब एक महिना छलफल गरेर संशोधनसहित बुधबार पारित भएको छ ।

डा.महतले १५ जेठमा संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष ०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपियाँबराबरको बजेट पेस गरेका थिए ।

अर्थमन्त्री महतले चालूतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपियाँ बजेट विनियोजन गरेका छन् । कुल बजेटको ६५.२० प्रतिशत हुन आउँछ । पुँजीगततर्फ तीन खर्ब दुई अर्ब सात करोड विनियोजन गरेका छन् । कुल बजेटको १७.२५ प्रतिशत हो ।

वित्तीय व्यवस्थातर्फ कुल बजेटको १७.५५ प्रतिशतबराबर अर्थात् तीन खर्ब सात अर्ब ४५ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । अर्थमन्त्रीले आगामी आवको बजेटका स्रोतअन्तर्गत १२ खर्ब ४८ अर्ब ६२ करोड रुपियाँ राजस्व संकलन गर्ने तथा ४९ अर्ब ९४ करोड रुपियाँ वैदेशिक अनुदान प्राप्ति गर्ने अनुमान गरेका छन् । दुई खर्ब १२ अर्ब ७५ करोड रुपियाँ वैदेशिक ऋण र दुई खर्ब ४० अर्ब आन्तरिक ऋण परिचालन गर्ने अनुमान गरेका छन् ।

सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने लक्ष्य राखेको छ । आगामी आवमा सरकारले मूल्यवृद्धिलाई ६.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको छ ।

विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता र नीति तथा कार्यक्रममा भएको छलफलका आधारमा आएको बजेट आंशिक संशोधनसहित प्रतिनिधिसभाबाट पारित भएको छ ।

विनियोजन विधेयक पारित भएपछि प्रतिनिधिसभामा राष्ट्रको ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्दा गणपूरक संख्या पुगेन ।

६७ संख्या मात्रै उपस्थित रहेपछि गणपूरक संख्या नपुगेर १० मिनेटका लागि बैठक स्थगित गरेका थिए । १० मिनेटपछि बसेको बैठकमा गणना गर्दा संख्या ७१ पुगेर राष्ट्रको ऋण उठाउने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पारित भएको थियो ।

बजेट पारित भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्थमन्त्री डा.महत निकै खुसी भएका छन् ।

Published : Thursday, 2023 June 29, 2:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया