ओलीद्वारा कांग्रेसका दोस्रो तहका नेताहरूसँग निरन्तर वार्ता, अनुशासनमा बस्न देउवाको निर्देशन

काठमाडौं । एमालेका अध्यक्ष खड्गप्रसाद ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धन भत्काउन निकै मेहनत गरेका छन् ।

ओली र भण्डारीले कांग्रेसका नेताहरूसँग निरन्तर भेटवार्ता गरिरहेका छन् । विशेष गरेर सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको प्रलोभना देखाइरहेका छन् । देउवा निकटका नेताहरूलाई ओली र भण्डारीले भेट्न निकै प्रयासहरू गरिरहेका छन् । तर, देउवा निकटका नेताहरूले ओली र भण्डारीलाई भेट्न रुचि देखाएका छैनन् ।

ओलीले आफ्नै निवास बालकोटमा कांग्रेसका दोस्रो तहका नेताहरूलाई एक्लाएक्लै बोलाउने गरेको उच्च स्रोतले जनाएका छन् । सभापति देउवालाई ओलीले कांग्रेसका केही नेताहरूलाई भेटवार्ता गरिरहेको सूचना पुगेको छ । देउवाले आफू निकटका नेताहरूलाई ओली र भण्डारीलाई नभेट्न निर्देशन दिएका छन् ।

सभापति देउवाको निर्देशन उल्लेख गर्दै एक जना पदाधिकारीले भने, ‘सभापति शेरबहादुर देउवाज्यूले ओलीसँग भेटवार्ता नगर्नु भन्नुभएको छ । ओलीले अविश्वास पैदा गरेर माओवादी र कांग्रेसको गठबन्धन भत्काउन लागेको कुरा सभापतिज्यूले भन्नुभएको छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीले गरिरहेका गतिविधि राम्रोसँग जानकारी छ ।

ओलीले विशेष गरेर महामन्त्री गगन थापा र उनी निकटका नेताहरूसँग गोप्य रुपमा भेटवार्ता गरिरहेको सूचना कांग्रेसभित्र निकै चर्चामा छ ।

ओलीले माओवादी केन्द्रका नेताहरूलाई पनि भेट गरिरहेका छन् । पछिल्लो समयमा ओलीले उप–प्रधानमन्त्री समेत रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई विभिन्न माध्यमबाट भेट गरेको स्रोतको दाबी छ ।

बुढानिलकण्ठको चपलीमा बस्दै आएकी पूर्वराष्ट्रपति तथा एमाले नेतृ भण्डारीले पनि गठबन्धन भत्काउन कांग्रेस र माओवादीका नेताहरूलाई एक्लाएक्लै बोलाएर भेट गर्ने गरेको स्रोतले जनाएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले कांग्रेसका एक जना केन्द्रीय नेतालाई फोन गरेर भेट्न बोलाएकी थिइन् । ती नेताले भेट्न अस्वीकार गरिदिएका छन् ।

पूर्वराष्ट्रपति भण्डारीले सभापति देउवासँग भेट्ने वातावरण बनाइदिन कांग्रेसका एक केन्द्रीय सदस्यसँग समेत आग्रह गरेकी छिन् । तर, देउवाले नै भण्डारी र ओलीसँग भेट्न रुचि देखाएका छैनन् ।

एमालेले दिएको धोकाबाट सभापति देउवा निकै सशंकित छन् । बरु प्रचण्डलाई नै प्रधानमन्त्री चलाउन दिने तर, एमालेसँग कुनै पनि प्रकारको गठबन्धन गर्ने पक्षमा देउवा छैनन् । देउवाले प्रचण्डसँग गरेको सहमतिलाई इमान्दारिताका साथ कार्यान्वयन गर्ने बताउने गरेको एक नेताले बताएका छन् ।

एमालेले आफू निकटका वेबपोर्टल र पत्रपत्रिकालाई प्रयोग गरेर सरकार ढल्न लागेको, एमाले र कांग्रेस मिलेर सरकार बनाउन लागेको भन्ने जस्ता समाचार प्रकाशित गराएर भ्रम छर्ने प्रयास गरिरहेका छन् ।

सभापति देउवा सिङगापुरमा उपचारका लागि गएका बेला एमालेले सरकार ढाल्न सिङगपुर गएको भनेर गलत प्रचार र हल्ला फैलाएका थियो ।

एमालेका नेताहरू विष्णु पौडेल, योगेश भट्टराई, महेश बस्नेतहरूले कांग्रेसका महामन्त्री गगन थापासहितका दोस्रो तहका नेताहरूसँग निरन्तर भेटवार्ताहरू गरिरहेका छन् । कांग्रेसबाट महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेलसहितका नेताहरू एमालेका नेताहरूसँग निरन्तर सम्वादमा छन् ।

एमालेकी नेतृ तथा पूर्वराष्ट्रपति भण्डारीले कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीसँग पनि निकै बाक्लो सम्वादहरू गरिरहेकी छिन् ।

Published : Wednesday, 2023 June 28, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया