पाँच किलोको मुटु भएका मन्त्री किराँती, प्रदीप अधिकारीलाई तोरीको फूल देखाइदिए

काठमाडौं । धेरै उम्लिएर उत्पात मच्चाएका नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई स्पष्टीकरण सोधिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले महानिर्देशक अधिकारीलाई सोमबार ९ बुँदे स्पष्टीकरण सोधेका हुन् । मन्त्रिस्तरीय निर्णयबाट मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका हुन् । मन्त्री किराँतीले ७ दिनभित्र जवाफ पेस गर्न महानिर्देशक अधिकारीलाई समय दिइएको छ ।

तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई मोटो रकम बुझाएर आफूभन्दा सिनियर कर्मचारीहरूलाई उछिनेर अधिकारीले महानिर्देशक पद किनेको भनेर आरोप लाग्दै आएको छ ।

अधिकारीले पर्यटन मन्त्रालयको र प्राधिकरणभित्रको सबै सूचना पूर्वमन्त्री आलेलाई सुनाउँदै आएका थिए । मन्त्री किराँतीविरुद्ध संसदमा बोल्न उकासेर भाषण लेखिने काम पनि अधिकारीले नै गरेका थिए । अधिकारी र आले बिज्नेश पार्टनर हुन् । उनीहरूका बीच निकै घनिष्ट सम्बन्ध छ ।

महानिर्देशक अधिकारीले प्राधिकरणभित्र कर्मचारीहरूलाई निकै दमनमा राखेका थिए । अधिकारीको महानिर्देशक बनेर आएपछि नेपालमा ठूला हवाइ दुर्घटना भएका छन् । पोखराको दुर्घटना होस् वा अन्य दुर्घटना हुन् ती सबै ठूला दुर्घटना हुन् ।
राजनीतिक संरक्षणको आडमा अधिकारीलाई कसैले पनि चलाउन सकेको थिएन । अहिलेका पर्यटन मन्त्री किराँतीले हवाइ उड्डयन सुरक्षाका लागि महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेर निकै राम्रो काम गरेका छन् ।

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रमको बुँदा नम्बर १०१ मा नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायका रूपमा छुट्याउने उल्लेख भएको अवस्थामा उक्त नीति विपरीत विभिन्न कार्यक्रममा अभिव्यक्ति दिँदै हिँडेको सम्बन्धमा मन्त्री किराँतीले महानिर्देशक अधिकारीलाई स्पष्टीकरण सोधेका छन् ।

अधिकारी महानिर्देशक भए पनि नेपाली दर्ताका दुई वटा विमान र ३ वटा हेलिकप्टर दुर्घटना भएको भन्दै मन्त्री किराँतीले ‘उड्डयन सुरक्षालाई प्रभावकारी बनाउनुपर्ने आफ्नो कर्तव्य र जिम्मेवारी निर्वाह गर्न तपाई असफल रहेको किन मान्नु नपर्ने ?’ भनेर पनि प्रश्न सोधेका छन् ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुन नसकेको अवस्थाबारे पनि जिम्मेवारी अधिकारीका हिसाबले मन्त्री किराँतीले महानिर्देशक अधिकारीसँग प्रस्टीकरण सोधेका छन् ।

स्पष्टीकरण पत्रमा सोधिएको छ, ‘वायुयान घटना, दुर्घटना रोकथामका लागि अपनाउनुपर्ने निरोधात्मक उपायभन्दा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको सिद्धान्त विपरित घटना दुर्घटनापछि प्रतिक्रियामा जाने गरेको देखिदा नियामक निकायको प्रमुखको रुपमा तपाइको नेतृत्व क्षमता र राज्यले उडान सुरक्षाका लागि सुम्पेको जिम्मेवारी बहन गर्न सक्ने तपाईंको क्षमतामा किन प्रश्न नगर्ने ?’

‘नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायको रूपमा छुट्याउने नेपाल सरकारको नीति तथा कार्यक्रम र अन्तराष्ट्रिय नागरिक उड्डयन संगठनले अप्रिल १३ देखि २५, २०२२ मा गरेको नेपालको उड्डयन सुरक्षा परीक्षणमा भएको सिफारिस विपरित कार्यात्मक विभाजन नै प्रर्याप्त छ भन्ने अभिव्यक्ति दिने तपाइले हवाई सेवाको क्षेत्रमा स्वार्थको द्वन्द्व हुन नहुने मान्यता विपरित विमानस्थलहरूको उडान सुरक्षा नियमन गर्न स्थापित एरोड्रम सेफ्टी स्ट्याण्डर्ड विभागको प्रमुख र राष्ट्रिय गौरवका आयोजनाको प्रमुखको जिम्मेवारी एउटै व्यक्तिलाई बनाई निजकै नेतृत्वमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण गरेको, फ्लाइट क्यालिब्रेसनको अन्तिम प्रतिवेदन प्राप्त नभई तथा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि उडान सुरक्षा मूल्यांकन लगायतका गर्नु पर्ने सम्पूर्ण पूर्व तयारी सम्पन्न नगरी विमानस्थल सञ्चालनमा किन ल्याएको परीक्षण उडान गराइ सोको प्रतिवेदन प्राप्त नगरी पोखरा विमानस्थलमा एयरबस ३२० विमानलाई उडान गर्न दिई उडान सुरक्षामा चरम लापरवाही के कति कारणले गर्नु भएको हो ?’

‘मिति २०७९ पुष १७ गते पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनको दिन तपाईंको आदेशमा पोखरा विमानस्थलको समाप्त भइसकेपछि पनि विपरित विभिन्न वायुसेवा कम्पनीका ५ वटा उडान गराइएको पाइयो । नियामक निकायको प्रमुखको हैसियतले यस्तो कार्यलाई रोक्नु पर्नेमा उडान सुरक्षामा प्रतिकुल असर गर्ने चरम लापरवाहीपूर्ण कार्य किन र कसरी हुन गएको हो ?’

‘मिति २०७९ जेठ २ गतेदेखि सञ्चालनमा ल्याइएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र मिति २०७९ पुष १७ गतेदेखि सञ्चालनमा ल्याइएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन’, स्पष्टीकरणमा सोधिएको छ, ‘राज्यले दातृ निकायहरूबाट अरबौं रुपियाँ ऋण लिएर बनाइएका अन्तर्राष्ट्रिय विमानस्थलहरू सञ्चालनमा ल्याउन नसक्नुमा विमानस्थल सञ्चालकको समेत मूख्य भूमिकामा रहनु भएका तपाईंको कार्यक्षमता कमजोर रहेको किन नमान्ने ?’

पत्रमा भनिएको छ, ‘महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२ मा उल्लेख भएको विमानस्थलको रनवेको पूर्वतर्फ १५ कि.मी. मा रहेको छिनेडाँडाको उचाइँ ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाइँ कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भएको, रन–वे को उचाई घटाउँदा निस्केको ग्राभेल मिसिएको ढुंगा माटो निर्माण व्यवसायीले वाह्य डिस्पोज गरेको नदेखिएकोले निस्केको सबवेस (ढुंगा सहितको ग्राभेल) उक्त रन वेमा नै प्रयोग गरेको अवस्था देखियो भन्ने उल्लेख छ । रन–वे को उचाई घट्नुको कारण के हो ? रन–वेको उचाई घटाउँदा छिनेडाँडाको उचाई वढि काट्नु परेको र यसबाट आर्थिक नोक्सानी परेको देखिन्छ । हवाई सुरक्षामा समेत यसबाट प्रतिकूल असर पर्ने देखिएकोले यस्तो कार्य किन गरिएको हो ?’

‘महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन २०७९ को पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाको उपशीर्षकको बुँदा नं. ८९३ मा उल्लेख भएको विमानस्थल निर्माण कार्यका लागि प्राधिकरण र निर्माण व्यवसायीबीच भएको सम्झौतामा प्रोभिजनल सम वापत अमेरिकी डलर ९० लाख व्यवस्था गरेकोमा सो रकम घटाइ अमेरिकी डलर ३१ लाख ७० हजार कायम गरेको छ । निर्माण व्यवसायीले परामर्शदाताको व्यवस्था गर्न वि. ओ. क्यू. मा समावेश भएको अमेरिकी डलर २८ लाखलाई घटाइ सो आइटममा व्ययभार बढ्ने गरी छुट्टै परामर्शदाता नियुक्ति गरेको पाइयो । सम्झौतामा नै परामर्श सेवा वापतको खर्चको व्यवस्था रहेको भएता पनि प्राधिकरणले त्यसैबाट खर्च नगरी छुट्टै सम्झौता गरी प्राधिकरणको बजेटवाट खर्च हुने गरी डिजायन रिभ्यूको लागि परामर्श सेवाका लागि अर्को परामर्शदातासँग रू. ३७ करोड ९५ लाख ९० हजारमा सम्झौता भएको देखिन्छ । सम्झौता गर्दाका बखत प्रति अमेरिकी डलर रु. ८२००९ को दरले परामर्श खर्चको लागि ई.पि.सि.मा रु. २२ करोड ९८ लाख ५२ हजार बराबरको खर्चको व्यवस्था भएता पनि छुट्टै सम्झौता अनुसारको रकम पहिले गरेको अनुमानभन्दा ६५.१५ प्रतिशतले बढी हुनुले निर्माणमा मितव्यिता कायम भएको देखिएन । सुपरभिजन कन्सल्टेन्सी सेवाको ठेक्कामा प्रोभिजनल सम वापत रू. १९ करोड ५२ लाखको व्यवस्था गरेको देखिन्छ । परामर्श सेवाको ठेक्कामा ५३ प्रतिशत भार प्रोभिजनल सममा राखेको औचित्यपूर्ण देखिएन भन्ने विषयमा तपाईंको भनाइ के छ ? यसरी छुट्टै सम्झौता गरी प्राधिकरणलाई गम्भीर हानी नोक्सानी किन पुर्‍याएको हो ?’, स्पष्टीकरणमा सोधिएको छ ।

‘नेपाल नागरिक उड्डयन प्राधिकरणको मिति २०७९/०४/०२ को यस मन्त्रालयका सचिवलाई सम्बोधन गरी लेखेको पत्रमा पोखरा महानगरपालिका वडा नं. १५ कोलपाटनमा नेपाल खानेपानी संस्थानद्वारा जाइकाको सहयोगमा निर्माणाधीन खानेपानी ट्याङ्की अन्तर्राष्ट्रिय विमानस्थलको भित्र पर्ने भएकाले यथाशीघ्र सो ट्याङ्कीको उचाइँ २० मिटरबाट घटाएर १५.५७ मिटर वा कम कायम गर्ने व्यवस्थाका लागि कारवाही अघि बढाइदिन भनि उल्लेख भएको । महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदन, २०७९ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आयोजना सम्बन्धी उपशीर्षक (८९.२) मा उल्लेख भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको रनवेको पूर्वतर्फ १.५ कि.मी. मा रहेको छिने डाँडाको उचाइँ ३० मिटर काट्नुपर्ने गरी साविकमा व्यवस्था भएकोमा रन–वे को उचाई कम हुँदा डाँडाको हाइट ४० मिटर काट्नुपर्ने अवस्था सिर्जना भए जस्तै रन–वे को उचाई घटाउँदा सो पानी ट्याङ्कीको समेत उचाइ घटाउनु पर्ने अवस्था सिर्जना भएको देखिन्छ । पानी ट्याङ्कीको उचाइ घटाउनु पर्ने भएबाट राज्यलाई परेको र पर्न सक्ने नोक्सानीको जिम्मेवारी तथा जवाफदेहिता तपाईंले लिनु किन नपर्ने ?’, अधिकारीलाई स्पष्टीकरणमा सोधिएको छ ।

Published : Tuesday, 2023 June 27, 12:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया