राणा र सिटौलाविरुद्ध गलत समाचारको गृहद्वारा खण्डन, पत्रिकाको खेतीपातीको पोल खुल्यो

काठमाडौं । गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय आरजु राणा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले निर्देशन दिएको भन्ने समाचारको खण्डन गरेको छ ।

ललितपुरको कुपण्डोलमा कार्यालय रहेको एउटा डुब्न लागेको दैनिक पत्रिकाले कांग्रेस नेतृ राणा र नेता सिटौलाविरुद्ध मनगढन्ते समाचार सम्प्रेषण गरेको थियो । सो दैनिक पत्रिकाले ब्ल्याकमेल गरेर व्यापारी, उद्योगी, सहकारी, बैंक, नेता आदिलाई हैरान बनाएको भनेर प्रेस काउन्सिल नेपालमा उजुरीका चाङ छन् ।

खेतीपाती गरेर हैरान बनाएको सो दैनिक पत्रिकाविरुद्ध अदालतमा पनि उजुरीहरू छन् । समाचार भूमिगत गिरोहले पैसा दिएर सो दैनिक पत्रिकामा लेखाएको आरोप लागेको छ । सो दैनिक पत्रिकालाई पैसा दिएर समाचार लेखाउन लगाउने व्यक्तिको गृह मन्त्रालयले पहिचान गरिसकेको छ । सो व्यक्तिलाई कारबाहीको तयारी भएको छ ।

सो दैनिक पत्रिकाले समाचार लेखेर आरजु राणा र कृष्णप्रसाद सिटालालाई पक्राउ गर्न उप–प्रधान एवम् गृहमन्त्री श्रेष्ठले निर्देशन दिएको भनेर तथ्यहीन समाचार आएको थियो । सो समाचारको गृह मन्त्रालयले खण्डन गरेको छ ।

समाचारमा गृहमन्त्री श्रेष्ठले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख (एआईजी) श्यामलाल ज्ञवालीलाई शुक्रबार मन्त्रालयमा बोलाएर आरजु राणा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न आदेश दिएको भनेर समाचार लेखेको थियो ।

‘गृह मन्त्रालय उक्त झुठो, निराधार र भ्रमपूर्ण समाचारको खण्डन गर्दछ’, गृह मन्त्रालयका सह–सचिव तथा प्रवक्ता केदारनाथ शर्माद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।

‘त्यस्तो निर्देशन दिने क्रममा माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु’, प्रवक्ता शर्माले भनेका छन् ।

‘मन्त्रालयको कुशासन र भ्रष्टाचार विरोधी अभियानमा साथ दिन र घटनाको निष्पक्ष छानविन गरी उचित निष्कर्षमा पुर्‍याउन सबैले सहयोग पुर्‍याउन समेत अनुरोध गर्दछु’, प्रवक्ता शर्माले भनेका छन् ।

Published : Monday, 2023 June 26, 5:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया