अख्तियारले ठूलो माछा फेला पार्‍यो

काठमाडौं । भीमदत्त नगरपालिकाका तत्कालीन नगरप्रमुख सुरेन्द्रबहादुर विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित १३ विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा नगरपालिका भएर बग्ने महाकाली नदीको ढुंगा, गिटी, बालुवा, माटोलगायत पदार्थ उत्खनन तथा बिक्रीका लागि लगाइएको ठेक्कामा कम कबोल गरी राज्यलाई ३ करोड ३३ लाख २२ हजार ५ सय ८३ रुपियाँ राजस्व हिनामिना गरेको अभियोग छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहित १२ जना व्यक्ति र ठेकेदार कम्पनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा हिनामिना भएको राजस्वलाई बिगो कायम गरी दोब्बर जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।

तत्कालीन नगर प्रमुख विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्टसहित निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशी, वडा नम्बर १७ का अध्यक्ष हिमालबहादुर चन्द, प्रशासकीय अधिकृत हरिहरसिंह धामी, शाखा अधिकृत नरबहादुर शाह, राजस्व छुट कार्यदलका सदस्यतथा इन्जिनियर हिमालयसिंह ऐर, ठेक्का सम्झौताका बेला साक्षी बस्ने गोविन्दराज उपाध्याय, भवानी कन्स्ट्रक्सनका सञ्चालकहरु केशवराज भट्ट, पुष्पराज भट्ट, कम्पनीका आधिकारिक प्रतिनिधि दिवाकर भट्ट खगेश्वरी भट्ट तथा कम्पनीलाई प्रतिवादी बनाइएको छ ।

नगरप्रमुख विष्ट र प्रमुख प्रशासकीय अधिकृत भट्टविरुद्ध ३ करोड ३३ लाख २२ हजार ५ सय ८३ रुपियाँ बिगो, बिगोको दोब्बर जरिवाना तथा ८ देखि १० वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ ।

राजस्वबापत प्राप्त हुने अंक घटाएर कबोल स्वीकृत गर्न भवानी कन्स्ट्रक्सन प्रालीले गरेको प्रस्तावबमोजिम राजस्व निर्धारण गरेको कसुरमा निमित्त प्रमुख प्रशासकीय अधिकृत जोशीविरुद्ध बिगो, कैद र जरिवाना मागदाबी गरिएको छ ।

अख्तियारले उनीविरुद्ध २ करोड ११ लाख ६५ हजार ६ सय ८ रुपियाँ बिगो दोब्बर जरिवाना र कैद सजायको पनि माग गरेको छ ।

Published : Sunday, 2023 June 25, 11:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया