यो हो ओली र भण्डारीले हतारमा गरेको काम, पापीहरूले पशुपतिनाथलाई पनि छाडेनन्

काठमाडौं । तत्कालीन प्रधानमन्त्री खड्गप्रसाद ओलीले पशुपतिनाथको मन्दिरमा लगाएको सुनको जलहरीबारे भ्रष्टाचारको गम्भीर कुरा उठेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरेको छ ।

आइतबार अख्तियारको टोलीले पशुपतिनाथ मन्दिर परिसर खाली गराएर अनुसन्धान शुरु गरेको छ ।

मन्दिरमा राखिएको जलहरीमा प्रयोग भएको सुनको तौल र गुणस्तर कम भएको भन्दै परेको उजुरी परेको थियो । जलहरीको तौल नाप्न लागेको अख्तियारले जनाएको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा सञ्चारकर्मी, सुरक्षाकर्मी र कार्यालय सम्बन्ध व्यक्तिहरूबाहेकलाई प्रवेश दिइएको छैन ।

अख्तियारका अनुसन्धान अधिकारीको रोहबरमा सुनचाँदी व्यवसायी संघका पदाधिकारी एवं विज्ञका साथै खानी तथा भूगर्भविभागका अधिकारीहरू र पशुपति विकास कोषका पदाधिकारीलाई समेत राखेर सुनको जलहरी तौलने र गुणस्तर जाँच्ने काम भएको छ ।

तत्कालीन प्रधानमन्त्री ओलीको निर्देशनमा पशुपतिनाथ मन्दिरमा १०८ किलोको सुनको जलहरी राखिएको थियो । जलहरीमा विवाद उत्पन्न भएपछि अख्तियारमा उजुरी परेको थियो ।

महालेखा परीक्षकको प्रतिवेदनले पनि करिब ११ किलो सुन कम प्रयोग भएको जनाएको छ । जलहरी काण्डबारे यसबारे संसदीय समितिले पशुपति विकास कोषका कर्मचारीलाई बोलाएर सोधपुछसमेत गरेको थियो ।

ओलीले करिब एक अर्ब रुपियाँ लागतमा जलहरी राख्ने घोषणा गरेका थिए । त्यसका लागि सरकारका तर्फबाट ३० करोड दिने घोषणा गरेका थिए ।

पशुपति क्षेत्र विकास कोषले सरकारले दिने रकममा ५० करोड आफैं थपेर १ सय ८ किलोको जलहरी राख्ने निर्णय गरेको थियो ।

सुनको जलहरी राख्ने विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन लागेको थाहा पाएपछि तत्कालीन सरकारले हतार–हतार राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत उद्घाटन गराएको आरोप लाग्दै आएको छ ।

पशुपतिनाथ मन्दिरमा दुई वर्षअघि राखिएको जलहरी निकालेर तौल लिन शुरु भएपछि भगवानको मन्दिरमा समेत भ्रष्टाचारीहरूले गलत कार्य गरेको भनेर आलोचना भएको छ ।

पशुपतिनाथको शिवलिंगमा चढाइने अघ्र्य, जल तथा पञ्चामृत खस्ने भागमा लगाइने धातुको पाता नै जलहरी हो । शिवलिंगमा चढाइने सबै तरल पदार्थ जलहरीबाट ब्रम्हनालमा पुग्छ ।

पहिले तामा र त्यसपछि चाँदीको जलहरी राखिएकोमा दुई वर्षअघि ओली पशुपति दर्शन गर्न गएका बेला सुनको जलहरी राख्ने प्रक्रिया अघि बढेको थियो ।

Published : Sunday, 2023 June 25, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया