गगन-विश्व-प्रदीपहरू पूर्णबहादुरको क्याम्पमा छिरे

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति पूर्णबहादुर खड्काले आफ्नो गुट निर्माणको गृहकार्य शुरु गरेका छन् ।

कांग्रेसका नेता स्व.खुमबहादुर खड्कामार्फत कांग्रेस पदाधिकारी बन्ने मौका पाएका खड्काले अहिले आएर आफ्नै गुट निर्माणमा लागेका हुन् । खड्कालाई स्व.खुमबहादुर खड्काले आफ्नो सिफारिसमा सह–महामन्त्री बनाएका थिए ।

पूर्वमन्त्री खुमबहादुर खड्काको निधनपछि त्यो समूहको नेतृत्व गरेर सभापति शेरबहादुर देउवाको आशीर्वाद लिएर उप–सभापति हुँदै अहिले उप–प्रधानमन्त्री र रक्षामन्त्री बन्न सफल भएका छन् । कथित युवा नेताहरूले सबै ठूला नेताहरूलाई धोका दिएपछि एक्लिएकाहरूले उप–सभापति खड्कालाई प्रयोग गर्न थालेका छन् ।

उप–सभापति खड्काले केन्द्र र प्रदेशका मन्त्री बनाउने बेला पनि स्व.खुमबहादुर खड्का निकटका सांसदहरूलाई अवसर दिएका छैनन् । लुम्बिनी प्रदेशमा खुमबहादुर खड्काका छोरा अनुराग खड्का पनि मन्त्री बन्ने आशामा थिए । उप–सभापति खड्कालाई पटक–पटक गएर अनुरागले मन्त्री बनाउन पहल गर्न अनुरोध गरेका थिए । उप–सभापति खड्काले अनुरागलाई लात हानेर आफ्नो गुटबाट हटाएका छन् ।

पछिल्लो समय उप–सभापति खड्काले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई आफ्नो गुटमा समावेश गरेका छन् । उप–सभापति खड्का महामन्त्रीद्वय थापा र शर्माप्रति लचक देखिन्छन् । थापा र शर्मालाई खड्काले संरक्षण गर्दै आएको चर्चा कांग्रेसभित्र छ ।

महामन्त्रीद्वय थापा र शर्माले केन्द्रीय सदस्य प्रदीप पौडेललाई पनि उप–सभापति खड्काको गुटमा छिराएका छन् । अचम्म त के छभने महामन्त्री थापा निकटका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि बधाइ दिन पुगेका थिए । थापाले नै खाणलाई पार्टीबाट निलम्बन गरेर कारबाहीको दवाव दिँदै आएका छन् ।

खड्कालाई उप–सभापतिसहित उच्च तहको पदमा लैजान भूमिका खेल्नेमा खाणको योगदान ठूलो छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा खाण पुर्पक्षका लागि जेल चलान भएका बेला उप–सभापति खड्काले महामन्त्रीद्वय थापा र शर्मा तथा केन्द्रीय सदस्य पौडेललाई आफ्नो क्याम्पमा छिराएका छन् ।

उप–सभापति खड्काले आफूलाई भेट्न आउने कांग्रेसका नेता तथा कार्यकर्तालाई गाली गरेर धम्काउने तथा रुखो बोल्ने गरेका कारण तनाबमा छन् । उप–सभापति खड्का निकै छिटो रिसाउँछन् ।

१५औँ महाधिवेशनमा आफ्नै गुट बनाएर सभापतिको उम्मेदवार बन्ने योजनामा खड्का छन् । खड्काले थापा, शर्मा र पौडेलको साथ लिएर सभापति बन्ने सपना देखिरहेका छन् ।

हरेक मौकामा कुनैन कुनै नेतालाई प्रयोग गरेर थापा महामन्त्री बन्न सफल भएका छन् । अब थापाले उप–सभापति खड्कालाई प्रयोग गर्न खोजी रहेका छन् । शर्मा र पौडेलको कथा पनि थापको भन्दा फरक छैन । शर्मा र पौडेल पनि नेताहरूलाई प्रयोग गरेर यो ठाउँसम्म आइपुगेका छन् ।

Published : Saturday, 2023 June 24, 10:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया