ओलीलाई भेट्नेवित्तिकै गगनले दिए प्रचण्ड सरकार ढाल्ने चेतावनी, भित्री कुरा के हो ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धनको विरोध गरेर सरकार ढाल्ने घुमाउरो शैलीमा चेतावनी दिएका छन् ।

शनिबार काठमाडौं क्षेत्र नं. ४ मा आयोजित कांग्रेसको कार्यक्रममा थापाले गठबन्धनको विरोध गरेका हुन् । उनले कांग्रेस नेतृत्वको आलोचना पनि गरेका छन् ।

थापाले गठबन्धनले चित्त बुझ्ने गरी काम नगरे गठबन्धन फेरिने चेतावनी दिए । उनको यो अभिव्यक्तिले सरकार ढल्न पनि सक्छ । एमालेसहितका विपक्षमा रहेका दलहरूलाई सरकारविरुद्ध गतिविधि गर्न महामन्त्री थापाको अभिव्यक्तिले साथ दिएको छ ।

सरकारको प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ छन् । सभापति शेरबहादुर देउवा अहिलेको गठबन्धनलाई आँच आउन नदिने पक्षमा छन् । एमालेले सरकार ढाल्न विभिन्न हर्कत गरिरहेका बेला कांग्रेस महामन्त्री थापाको गठबन्धन विरोधी अभिव्यक्तिले कतै सरकार ढल्ने त होइन भन्ने प्रश्न उठेको छ ।

केही दिन अगाडि महामन्त्री थापाले एउटा सार्वजनिक कार्यक्रममा एमालेका अध्यक्ष खड्गप्रसाद ओलीसँग सम्वाद गरेका थिए । त्यसपछि थापाका अभिव्यक्ति गठबन्धन विरोध भएर आएका छन् ।

थापाले गठबन्धन ठीक ढंगले चलेन र चित्त बुझेन भने गठबन्धन फेर्ने कुरा नौलो नभएको बताए । कांग्रेसले सरकार छोड्नुपर्छ की भन्ने डरले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको महामन्त्री थापाले बताएका छन् । थापाले सरकार छोड्नपरे पनि नडराइकन एक्लै चुनाव लड्न कांग्रेसले सक्नुपर्ने बताएका छन् ।

उनले भने, ‘हाम्रो पार्टीका लागि मान्छे ज्यान गए जाओस्, कांग्रेस छोड्दिन भन्छ भने आज हामी सरकार गए जाओस् भन्न नसक्ने ? जाओस् न त सरकार ।’

‘५ वर्ष जाओस्, १० वर्ष जाओस् । हेर्दा सानो देखिन्छ । हामीले प्रायश्चित गर्नैपर्छ की हामीले हाम्रो सरकार नबन्ला, अरुको सरकार बन्ला भन्ने डरले चुनावअघि नै गठबन्धन गर्‍यौँ’, थापाले भनेका छन् ।

‘चुनाव पछाडि सरकार बन्ने, बदल्ने सामान्य कुरा हो । हामी अहिले एक गठबन्धनमा छौँ, गठबन्धन ठिक ढंगले गएन, चित्त बुझेन भने गठबन्धन बदलिन्छ’, महामन्त्री थापाले भने, ‘नयाँ सरकार बन्छ, कुनै अनौठो कुरा भएन ।’

महामन्त्री थापाले समाजवादी मोर्चामा अझै एमाले पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भएपनि कांग्रेसलाई फरक नपर्ने बताएका छन् ।

उनले निर्वाचन प्रणालीका कारण प्रदेशमा समेत गठबन्धन भइरहेको बताएका छन् । प्रतिनिधि सभामा समानुपातिक निर्वाचन प्रणाली राख्न नहुने उनले बताएका छन् ।

महामन्त्री थापाले भने, ‘जताततै प्रदेशमा तल–माथि सबैतिर गठबन्धन किन भइरहेको छ ? यसको एउटा कारण भनेको हाम्रो निर्वाचन प्रणाली हो ।’

‘हामीले यस्तो निर्वाचन प्रणाली किन बनायौँ ? मिसिएको निर्वाचन प्रणाली हामीले संसद समावेशी बनाउन बनाएका हौँ’, उनले भनेका छन् । कांग्रेसका महामन्त्री थापाले भने, ‘हाउस समावेशी बनाउने अरु तरिका पनि छन् ।’

थापाले केही दिन अगाडि सभापति शेरबहादुर देउवाको राजीनामा माग गरेर आलोचित बनेका थिए । अहिले आएर गठबन्धनको विरोध गर्दै गठबन्धन फेरिन सक्ने बताएर थापा चर्चामा आएका छन् । सभापति देउवा अहिलेकै गठबन्धनलाई निरन्तर अगाडि बढाउन चाहेका छन् ।

महामन्त्री थापाले गठबन्धन फेरिन सक्छ भन्नु सरकार ढाल्ने अभिव्यक्ति दिएको भनेर चर्चा भएको छ ।

Published : Saturday, 2023 June 24, 12:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया