चन्दलाई माओवादीको अध्यक्ष बनाउन प्रचण्डको रुचि, पुन र शर्मासँग दुरी

काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा दाहाल र चन्दबीच भेटवार्ता भएको हो । उनीहरूका बीच ‘समाजवादी मोर्चा नेपाल’लाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा कुराकानी भएको प्रचण्डकी छोरी गंगा दाहालले बताएकी छिन् । गंगाका अनुसार माओवादी आन्दोलनको उपलब्धिको रक्षा र पार्टी एकताबारे गम्भीर छलफल भएको छ ।

माओवादीको कथित जनयुद्धलाई लिएर सर्वोच्च अदालतमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहाल र पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईविरुद्ध मुद्दा दायर भएको छ ।

सर्वोच्च अदालतको सो मुद्दापछि तनाबमा परेका दाहालले माओवादीका छरिएर रहेका नेताहरूलाई मिलाउन खोजेका छन् ।

अध्यक्ष दाहालले माओवादीको नेतृत्वका लागि चन्दलाई अगाडि सार्न सक्ने बुझिएको छ । दाहालपछि माओवादीलाई नेतृत्व गर्ने उपयुक्त नेता छैनन् । माओवादीको नेतृत्व तयार पार्न चन्दसँग निकटता बढाएको चर्चा छ ।

माओवादीको अध्यक्ष बन्नका लागि वर्षमान पुन र जनार्दन शर्मा अहिलेसम्म अगाडि देखिएका छन् । पुन र शर्माभन्दा पनि चन्दलाई पार्टी एकतामार्फत ल्याएर अध्यक्ष बनाउन रुचि देखाएको चर्चा पनि छ ।

Published : Thursday, 2023 June 22, 10:37 am

फेसबुकबाट तपाईको प्रतिक्रिया