प्रचण्ड सरकार ढल्न लागेको हो ? मोर्चा गठन भएकै दिनदेखि विभाजन
काठमाडौं । माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिस्ट पार्टीको ‘समाजवादी मोर्चा नेपाल’ गठनलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका छन् ।
विशेष गरेर एमालेले समाजवादी मोर्चाविरुद्ध निकै आक्रामक आलोचना गरिरहेको छ । नेपाली कांग्रेसले समाजवादी मोर्चाप्रति रुचि देखाएको छैन । कांग्रेसले मोर्चाको खुलेर आलोचना पनि गरेको छैन । मोर्चा गठन भएकै दिनदेखि समाजवादी मोर्चाभित्र फुटको गन्ध आउन थालेको छ ।
एमालेले मोर्चाका कारण सत्ता गठबन्धनभित्र खटपट शुरु भएको चर्चा गरेको छ । एमालेले असोज महिनासम्म प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कुर्सी फुत्किने जनाउन थालेको छ । नेपाली कांग्रेसप्रति नरम देखिएको एमालेले समाजवादी मोर्चालाई देखाएर सत्ता गठबन्धभित्र खेल्न खोजेको छ ।
एमालेका सचेतक महेश बर्तौलाले समाजवादी मोर्चा गठनको विषयलाई लिएर सरकार ढल्नेसम्मको चेतावनी दिएका छन् । उनले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्न सक्ने बताएर हलचल ल्याइदिएका छन् ।
बुधबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले एमालेले चाहेमा एक हप्ताभित्रमा सरकार ढाल्ने दाबी गरेका हुन् । उनले यो सरकारको आयु प्रत्येक एक दिनका लागि भएको बताए । सरकार एमालेको प्रयत्नले ढल्ने नभइ गठबन्धनभित्रकै अन्तरविरोध, असमझदारी र अविश्वासले ढल्ने बताए ।
बर्तौलाले एमालेले आफ्नै सामर्थ्य र जनताको आदेशका आधारमा संसदमा भूमिका निर्वाह गर्ने बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ताबाट हट्नुपर्ने हो कि भन्ने त्रासका कारण समाजवादी मोर्चा बनाएको बताए ।
समाजवादी मोर्चा बनाउनुले देशलाई अन्यौलता र अस्थिरतातर्फ लान मद्दत पुर्याउने बताए । ‘एमालेले यस प्रकारको मोर्चा बनाएर हिँड्नुपर्ने जरुरी छैन । एमाले आफ्नो सामर्थ्यका साथ, जनताले दिएको म्याण्डेटको बलमा संसदमा आफ्नो भूमिका निर्वाह गरिरहेको छ’, उनले भने, ‘नागरिकहरूको मुद्दालाई केन्द्रमा राखेर, राष्ट्र हीतको विषयलाई केन्द्रमा राखेर हाम्रो उपस्थिति देखाइरहेका छौँ । यो सरकारलाई हामीले कुनै मेहनत गर्नुपर्दैन ।’
‘एमालेले चाहेर यसलाई ढाल्नका लागि प्रयत्न गर्ने हो भने हामी एक हप्ताभित्रमा यो सरकारलाई ढाल्न सक्छौँ’, उनले भनेका छन् । उनले यो सरकारको आयु प्रत्येक दिन एक दिनका लागि भएको भन्दै भोलिपल्ट, अर्को एक दिनको लागि भएको बताएका छन् ।
‘कतिखेर यो सरकार ढल्ने, एमालेको कारणले, एमालेको प्रयत्नले होइन । उहाँहरुबीचको अन्तरबिरोध, असमझदारी छ, जुनखालको अविश्वास छ, त्यसको कारणले गर्दापनि यो सरकार लामो समय टिक्दैन भन्ने तथ्यले प्रमाणित गरिसकेको छ’, उनले भने, ‘यदि यसो हुँदैन थियो भने स्वयं यो सरकारको प्रधानमन्त्रीले सरकारभित्र बसेर अर्को मोर्चाबन्दी र अर्को गुट निर्माण गर्नुपर्ने कुनै जरुरी थियो ? किन गर्नुभयो भन्दा उहाँहरुको आयु, उहाँहरुको पद जतिखेर पनि धरापमा छ । त्रासमा हुनुहुन्छ । त्रासका कारणले अनेकौँ खालका गुट निर्माण गरेर हिँडिरहनुभएको छ । यसले देशलाई अन्योलतातर्फ, अस्थिरतातर्फ लानलाई मद्दत पुर्याउँछ । राजनीतिक असमझदारी, राजनीतिक अन्यौलता सिर्जना गर्न यसले भूमिका निर्वाह गरेको छ ।’
उनले समाजवादी मोर्चा गठबन्धनभित्रको एउटा गुट भएको बताए । मोर्चाले देश र जनताको हितमा काम नगर्ने उनले बताएका छन् । उनले मोर्चामा आवद्ध दलहरूबीचको प्रेम गैँडाको प्रेम चटाइ भएको बताएका छन् ।
उता, प्रधानमन्त्री दाहालले कांग्रेस समेतको सहमतिमा प्रगतिशील विचार राख्नेहरू मिलेर समाजवादी मोर्चा निर्माण गरेको बताएका छन् । उनले मोर्चामा एमालेलाई पनि ढोका खुला रहेको बताए ।
दाहालले भने, ‘यो मोर्चाको अवधारणाभित्र आउने हो भने एमालेलाई पनि खुला छ ।’ उनले तत्कालै एमाले आउने संभावनाचाहिँ नरहेको बताएका छन् ।
‘हामीले मोर्चा घोषणा गर्दै गर्दा यो कसैका विरुद्ध होइन है भनेका छौं’, उनले भने, ‘लेफ्टहरू, परिवर्तनका पक्षधरहरू, बाह्रबुँदे समझदारीकर्ताहरू, शान्ति सम्झौता र संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर कसैका पनि विरुद्ध होइन भनेका छौं ।’
उनले उपेन्द्र यादवको अनिच्छाका कारण बाबुराम भट्टराई तत्काल मोर्चामा सहभागी नभएको बताएका छन् । दाहालले भने, ‘बाबुरामजी र हामी पार्टी नै एउटै बनाउने भन्ने उद्देश्यका साथ चुनाव एउटै चिह्नबाट लड्ने अनि पार्टी पनि एउटै बनाउने, नेकपा समाजवादी केन्द्रमा जाने भन्ने सैद्धान्तिक सहमतिका आधारमा अगाडि बढेको हो । अहिले पनि बाबुरामजीसँग पार्टी एकताको सहमति भंग भएको छैन ।’
‘त्यसकारण, मोर्चाका कतिपय साथीहरूले तपाईं त एउटै पार्टी हो नि, चुनाव चिह्न एउटै छ, फेरि मोर्चामा दुईवटा किन हुनुपर्यो भन्ने तर्क पनि राख्नुभएको हुनाले यो अवस्था आएको हो’, दाहालले भनेका छन् ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया