चीनको मिटर व्याज ऋणमा बनेको एयरपोर्टमा चीनकै जहाज आयो, राजदूतको विवादित बयान
काठमाडौं । चीनले दिएको निकै महँगो ऋण र व्याजमा निर्माण भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा कसैले ठूलो जहाज उडाउन नमानेपछि चीन आफैले पहिलो पटक अन्तर्राष्ट्रिय जहाज अवतरण गराएको छ ।
बुधबार चीनको सिचुवान एयरलाइन्सको ए–३१९ एयरबस पहिलो पटक पोखरा विमानस्थलमा अवतरण भएको छ । चीनको छेन्दु अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको एयरबस बिहान ०८:५० मा अवतरण भएको पोखरा विमानस्थलले जनाएको छ । एयरबसमा एमालेका नेता समेत रहेका राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित १३० जना यात्रु छन् ।
छेन्दुबाट उडेको २ घण्टा ४५ मिनेटमा विमान पोखरा अवतरण भएको विमानस्थल प्रमुख विक्रम गौतमले बताए ।
फेवातालमा असार ८ र ९ गते आयोजना हुन लागेको ड्रागन बोटरेस फेष्टिभलमा सहभागी हुने चिनियाँ खेलाडी र केही नेपाली चिनियाँ जहाजमा सवार छन् ।
यसैबीच, नेपालका लागि चिनियाँ राजदुत चेन सङले पोखरा विमानस्थल बिआरआई परियोजनाअन्तर्गत भएको बताएका छन् ।
बुधबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बिआरआई परियोजना अन्तर्गत विमानस्थल बनाएको भनेर सबैलाई चकित तुल्याइदिएका छन् ।
यसअघि विमानस्थल उद्घाटनको क्रममा पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिआरआई परियोजनाअन्तर्गत बनेको उनले बताएका थिए । बिआरआई परियोजना अन्तर्गत बनाइएको हो भने चीनले किन महँगोमा ऋण दिएको हो प्रश्न उठेको छ ।
चीनको एक्जिम बैंकसँग नेपालले लिएकोको व्याज निकै महँगो भएको भनेर आलोचना भइरहेको छ ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको बताएका छन् । उनले यसमा चीनका इन्जिनियरहरूले डिजाइन गरेको बताएका छन् ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल २०२३ को जनवरीमा सुरूआत भएको हो’, सङले भने, ‘यसको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको हो ।’
‘चाइनिज इन्जिनियरिङहरूबाट यो निर्माण भएको छ । अन्तत: हामीले अन्तर्राष्ट्रिय उडानको सफल अवतरण गरेका छौँ’, उनले भने, ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा । यो बिआरआई परियोजनाअन्तर्गतको हो ।’
सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सिएएमसिइबीचको सम्झौतापछि १८ साउन २०७३ देखि यो विमानस्थल निर्माण सुरू भएको थियो ।
सिएएमसिईसँग मूल्य अभिवृद्धि कर (भ्याट) सहित अमेरिकी डलर २४ करोड ४० लाख ४० हजारमा सम्झौता भएको थियो ।
पोखरा विमानस्थल बनाउन नेपाल सरकारले चीनको एक्जिम बैंकसँग २०७२ मा सम्झौता गरेर १ अर्ब ३७ करोड ८७ लाख चिनियाँ युआन ऋण लिएको छ । यो ऋण निकै महँगो छ । ऋणको किस्ता समयमा तिर्न नसकेको भनेर दुई वर्ष अगाडि चीनले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई करीव ५० लाख जरिवाना गराइसकेको छ ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण चीनले मिटर व्याजमा दिएको भनेर आलोचना भइरहेको छ ।
बिचार/ब्लग
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस
कानूनले के भन्छ ? शेरबहादुर देउवा जहाँ, चार तारे झण्डा र रुख त्यहीँ
केशवराज जोशी, अधिवक्ता

फेसबुकबाट तपाईको प्रतिक्रिया