एमालेले धेरै औकात देखाएपछि कांग्रेस बोल्यो, लेखकले कानूनको पाठ सिकाए

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले अबरोध गरेपछि प्रतिनिधि सभाको बैठक १५ मिनटका लागि स्थगित भएको छ ।

मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को विभिन्न मन्त्रालयअन्र्तगत विनियोजन विधेयकमाथिको छलफलका क्रममा एमालेले शहरी विकास मन्त्रालयको किताबमा लुम्बिनी प्रदेशको नाम प्रदेश नं. ५ भनेर लेखेको भन्दै विरोध जनाएको हो ।

एमालेका सांसद सूर्यबहादुर थापाले लुम्बिनी प्रदेशको नाम ५ नं. प्रदेश भनेर ५०औँ स्थानमा लेखेको भनेर आपत्ति जनाए । उनले बजेटमा नै नाम छुटाएको भन्दै विरोध गरेर सदन चल्न नसक्ने बताएका थिए ।

त्यसपछि सभामुख देवराज घिमिरेले शहरी विकासमन्त्री सीता गुरुङलाई सो विषयमा स्पष्ट पार्न समय दिएका थिए । मन्त्री गुरुङले आफ्नो मन्त्रालयको बजेटको किताब पछाइमा त्रुटि हुन गएको र त्यसलाई सुधार गरेर ल्याउने प्रतिवद्धता जनाएकी थिइन् ।

लगत्तै एमालेका सांसद छविलाल विश्वकर्माले पनि लुम्बिनी प्रदेशको नाम ५ नं. प्रदेश भनेर राखिएकोमा आपत्ति जनाउँदै बैठक चल्न नदिने बताए ।

त्यसपछि नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले शहरी विकास मन्त्रीले त्रुटिलाई सच्याउने भनेर प्रतिबद्धता जनाइसकेकाले बैठक चलाउन माग गरेका थिए । लेखकले सभामुखबाट रुलिङ भइसकेको र मन्त्रीले पनि सच्याउने प्रतिबद्धता जनाएको अवस्थामा बजेटमाथिको छलफल अगाडि बढाउन अनुरोध गरेका छन् ।

लेखकले एमालेले यही विषयमा सभामुखको रुलिङलाई पनि नमान्ने हो भने स्थिति अर्कै दिशामा मोडिने चेतावनी दिएका छन् । एमालेका सांसद रघुजी पन्तले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको किताबमा पनि कोशी प्रदेशको नाम हटाएर १ नं. प्रदेश राखेको भन्दै लुम्बिनी प्रदेशको पनि नाम हटाएकोमा सदनमा सो विषयमा छलफल हुन नसक्ने बताए ।

एमाले र कांग्रेसका सांसदहरूबीच विवाद बढ्न थालेपछि सभामुख घिमिरेले सहमतिको प्रयास खोज्न सदनको बैठकर्लाइ १५ मिनटका लागि स्थगित गरेका छन् ।

Published : Tuesday, 2023 June 20, 12:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया