सरकारले क्रसर व्यवसायीहरूलाई हदैसम्म दु:ख दियो, असार दोस्रो सातादेखि बन्द हुने
काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले असार दोस्रो हप्तादेखि देशभरि गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने जनाएको छ ।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर महासंघले असार १६ गतेदेखि देशभरि गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने निर्णय भएको जानकारी दिएको छ । सरकारले कानून बमोजिम दर्ता भई ईजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा वालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न महासंघले माग गरेको छ ।
अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानको लागि पहल गरे पनि ठोस पहल नभएको गुनासो गरेका छन् । उनले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानून बमोजिम सञ्चालनमा आएका उद्योगहरू समेत बन्द गरेको बताएका छन् ।
अध्यक्ष न्यौपानेले नेपाल सरकार मन्त्रिपरिषदले माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर, मापदण्ड लगातका कारण नवीकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानून अनुसार लाग्ने कर, दस्तुर, शुल्क लगायत राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्णय पनि कार्यान्वयन नभएको बताए ।
क्रसर उद्योगहरू दर्ता वा राजश्व बुझाउन जाँदा पत्रमा नवीकरणको भाषा स्पष्ट नभएको कारण जनाई रकम बुझ्न नमानेको महासंघका अध्यक्ष न्यौपानेले बताएका छन् । उनले विभिन्न बहाना बनाएर उद्योगहरू नवीकरण गराउन व्यवधान गरेर उद्योगीहरूलाई दु:ख दिएको बताए ।
न्यौपानेले सरकारले कानून बमोजिम दर्ता भई ईजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा बालुवा उद्योगहरू असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन दिनुपर्ने माग गरेका छन् ।
अन्यथा असार १६ गते देखि देशभरिका सम्पूर्ण क्रसर, खानी तथा वालुवा उद्योगहरूको बिक्री तथा उत्पादन कार्य ठप्प गरी अनिश्चित कालको लागि क्रसरहरू बन्द गर्ने बताए ।
कच्चा पदार्थको रुपमा रहेका ढुङ्गा, गिट्टी, वालुवा, उत्खनन कार्य र ती कच्चा पदार्थहरू क्रसिङ प्रशोधन गर्नेगरी उद्योग सञ्चालन गर्ने कार्य छुट्टाछुट्टै उद्देश्य अनुसार रहेको महासंघका अध्यक्ष न्यौपानेले जनाएका छन् ।
महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँगै जोडेर मूल्याङ्कन गर्न नमिल्ने जनाएको छ । उत्खनन कार्य स्थानीय सरकारमार्फत क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालयमार्फत व्यवस्थापन गर्ने व्यवस्था गर्न न्यौपानेले माग गरेका छन् ।

बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया