नागरिकताविहीन नवलपरासीका युवाद्वारा काठमाडौंमा धर्ना, कांग्रेस नेताहरूको समर्थन
काठमाडौं । नागरिकताविहीन नवलपरासीका नागरिकहरू यति बेला काठमाडौंमा छन् । देशका विभिन्न जिल्लाबाट नागरिकता नपाएर विभिन्न समस्या भोगिरहेका नागरिकहरू काठमाडौंको माइतीघरमा जम्मा भएर एक हप्ताभन्दा बढि समयदेखि धर्नामा छन् ।
धर्नामा सहभागिता जनाउन नवलपरासीबाट पनि नागरिकता नपाएका नागरिक काठमाडौं पुगेका हुन् । आइतबार नागरिकताविहीन संघर्ष समितिको धर्ना कार्यक्रममा नेपाली कांग्रेसका नेता एवं लुम्बिनी प्रदेश सभाका सदस्य देवकरण कलवार सन्तुसँगै जिल्लाका अन्य नेताहरू पनि सहभागी भएका छन् ।
कांग्रेस नेता एवं प्रदेश सभा सदस्य सन्तुले नागरिकताको विषय संवेदनशील भएकाले राजनीति नगर्न आग्रह गरेका छन् । नेपाली नागरिकता भएका आमाबुबाका सन्तानले लामो समयदेखि नागरिकताविहीन हुनु परेको पीडा बुझ्न सरोकारवाला सबैसँग आग्रह गरेका छन् ।
कलवारले भने, ‘आमाबुबासँग नेपाली नागरिकता छ । तिनका छोराछोरी नागरिकताविहीन हुनु दुर्भाग्य हो । आफ्नै देशमा पनि अनागरिक हुनुको पीडा ति सन्ततीबाहेक अरुले बुझ्न सक्दैनन् ।’
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १७ गते नागरिकता विधेयक प्रमाणिकरण गरेका थिए । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ ।
नागरिकता माग गर्दै एक युवकले केहि दिनअघि माइतीघरमै आत्मदाहको प्रयास गरेका थिए । २०७२ सालमा नयाँ संविधान जारी भएपछि नागरिकतासम्बन्धि कानून नबन्दा लाखौंको संख्यामा नागरिकताबाट बञ्चित हुनुपरेको छ । संसदबाट दुई पटक पारित भइसकेको नागरिकता विधेयक यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरी राखेकी थिइन् ।
निर्वाचनपछि नयाँ सरकार गठन भएसँगै नयाँ राष्ट्रपति बनेका पौडेलले यसअघि नै संसदबाट पारित विधेयक प्रमाणिकरण गरेपछि नागरिकता समस्या समाधान हुने विश्वास थियो । अदालतको आदेशले तत्काल कार्यान्वयनमा नआएपछि नागरिकताविहीन युवा आक्रोशित भएका हुन् ।
नवलपरासी–१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद विनोद चौधरीले पनि नागरिकता समस्या समाधानका लागि सबै गम्भीर हुनुपर्ने बताउँदै आएका छन् । सर्वोच्च अदालतले पनि राष्ट्रपतिबाट प्रमाणिकरण भइसकेको नागरिकता विधेयक कार्यान्वयनमा सहजीकरण गर्ने सांसद चौधरीको विश्वास छ ।
‘नागरिकता नभएर हाम्रै देशका युवाहरुले भोग्नुपरेको समस्याप्रति आँखा चिम्लिन सकिन्न । नागरिकता नहुँदा न उच्च शिक्षा अध्ययन गर्न पाएको छ, न देशभित्र कुनै अवसर पाउने अवस्था छ न विदेश जान । वर्षौंसम्म नागरिकताको समस्यालाई अड्काएर राख्न लाखौं युवाहरुमाथिको अन्याय हो’, सांसद चौधरीले भनेका छन् ।
देशका विभिन्न जिल्लाबाट नागरिकताविहीन युवाहरू काठमाडौं आएर विरोध गर्दै आएका छन् । उनीहरूले नागरिकता नहुँदा आफूहरूले भोगिरहेको समस्या बुझिदिन सबैलाई आग्रह गर्ने गरेका छन् । सहज रुपमा नागरिकता पाउनुपर्ने आफूहरूको नैसर्गिक अधिकार भएको भन्दै संघर्ष समितिले सबैलाई सहजीकरण गरिदिन आग्रह गरेका छन् । नवलपरासी सुस्ताबाट काठमाडौं आएका रघुवीर शर्माले नागरिकता नपाउँदा आफूहरूले ठूलो समस्या भोग्नुपरेको पीडा सुनाए ।
‘हाम्रो आमाबुबाको नागरिकता छ, हामी छोराछोरीको नागरिकता छैन । कतिपयको दाजुको नागरिकता छ, भाइको छैन । एउटै परिवारका कसैको नागरिकता हुने, कसैको नहुने समस्या छ । उनले भने, ‘सुस्ता गाउँपालिकामा मात्रै सयौंको संख्यामा नागरिकता पाउनबाट बञ्चित छन् । हामीले भोगिरहेको पीडालाई बुझेर नागरिकता समस्या समाधान गरिदिन सबैलाई आग्रह गर्छौं ।’
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया