काजु र लाखौंको सामानसहित काठमाडौंमा मानिसहरू पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले भन्सार छली गरी ल्याएको सामान र बससहित दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरीका प्रमुख (एसएसपी) दानबहादुर कार्कीका अनुसार सर्लाहीको मलंगवा नगरपालिका ४ घर भएका ४९ वर्षीय शरण राय यादव (चालक) र सर्लाहीको हरिपुर नगरपालिका ३ का २७ वर्षीय विक्रम शेख (सह–चालक)लाई बालाजुबाट पक्राउ गरिएको छ ।

शनिबार बिहान साढे ६ बजे सर्लाहीबाट काठमाडौं आएको बसमा कपडा तथा खाद्य सामग्रीहरू रहेको गोप्य सूचनाको आधारमा काठमाडौं प्रहरीले ना ५ ख २७७० नम्बरको बसलाई बालाजुबाट नियन्त्रणमा लिएको थियो ।

प्रहरीले बसका साथै पापड, चकलेट, खेलौना, पाइप चकलेट, सुर्ती, रेडबुल, तुलसी, चेक स्पोकेट, कपडा, पर्दाको कपडालगायत करीव ४८ लाख ३० हजार ११५ रुपियाँ बराबरको सामान बरामद गरेको छ ।

काठमाडौं प्रहरीले जेठ ३२ गते बिहान ७ बजे कलंकीबाट बा.५ ख ८६०१ नम्बरको ट्रक र त्यसमा रहेको अबैध सामग्रीसहित हेटौँडा ९ का ४५ वर्षीय सुरेश बललाई पक्राउ गरेको छ ।

प्रहरीले ट्रकसहित ट्रमा रहेको टिर्सट, साडी, लेहेंगा बनाउने कपडा, सुतीको कपडा, कुर्ता सलवार, काजुलगायत ७० लाखको मालसामान बरामद गरेको विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2023 June 18, 7:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया