ओखलढुंगामा मिशन र अरु दुई अस्पतालको आवश्यक्ताबारे खतिवडाले सरकारलाई जानकारी गराए

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ओखलढुंगाको रामपुरमा अस्पताल शिलान्यास गरेर पैसा अभावले गर्दा काम रोकिएको बताएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै खतिवडाले भने, ‘मेरै ओखलढुंगा जिल्लाको मोलुङको रामपुर भन्ने ठाउँमा हस्पिटल बनाउन टेण्डर गरियो हतार हतार एकै दिन शिलान्यास गर्न पुगे । अहिले बन्द छ । पैसा पनि छैन । काम पनि भएन भन्छन् ।’

उनले भने, ‘प्रादेशिक हस्पिटल ओखलढुंगाको मानेभञ्ज्याङको टोक्सेल भन्ने ठाउँमा स्थापना गर्न भनेको शून्य रकम छुट्टिएको छ ।’

‘ओखलढुंगा जस्ता ठाउँमा अरु केही पर्दैन ७५३ स्थानीय तहमा ल्याब र भिडियो एक्सरे गर्ने व्यवस्था गर्नुस् सबैभन्दा राम्रो काम त्यहाँ हुनेछ’, खतिवडाले भनेका छन् ।

उनले भने, ‘ओखलढुंगामा मिशन हस्पिटल छ । स्वास्थ्य मन्त्रालयले अनुदान गरेर केही कामहरू पनि भएको छ । त्यस्ता दुर्गम ठाउँमा एमआरआई मेशिन लगेर त्यहीँ स्वास्थ्यको उपचार गर्ने व्यवस्था गर्दिन पनि अनुरोध गर्छु ।’

उनले भने, ‘उपचार राम्रो हुनु पर्‍यो महँगो हुनु भएन । उमेर ढल्दै गएपछि उपचार गर्न पाउँदैन कि भन्ने चिन्ताको अन्त्य गर्न आग्रह गर्छु ।’

‘अनि गाउँमा पुग्दैन भने कहाँका लागि विकास गर्छौ ?’, कांग्रेसका सांसद खतिवडाको प्रश्न छ ।

Published : Sunday, 2023 June 18, 6:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया