वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य जाँच नि:शुल्क बनाउन खतिवडाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले वैदेशिक रोजगारीमा जाने श्रमिकहरूको स्वास्थ्य उपचार (मेडिकल) नि:शुल्क बनाउन सरकारलाई सुझाव दिएका छन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै खतिवडाले वीर अस्पताल वा टिचिङ अस्पतालमा विदेश जाने श्रमिकहरूको नि:शुल्क स्वास्थ्य जाँद गराउन सुझाव दिए ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका सांसद खतिवडाले दिएको यो सुझावलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले आफ्नो नोटबुकमा टिपोट गरिरहेका थिए ।

खतिवडाले भने, ‘हामीले ठूला काम गर्नु पर्दैन । विदेश जाने श्रमिक जो छ त्यसलाई एउटा फ्रिमा स्वास्थ्य चेकअप गर्ने व्यवस्था गरौँ न !’

‘त्यसलाई वीर अस्पतालमा राख्ने कि, टिचिङमा राख्ने हो कि, धेरै ठूलो गर्नु पर्दैन नेपाली नागरिक रोजगारीका लागि सबै कुरा त्याग गरेर विदेश जान्छ ! फ्रिमा आफ्नो स्वास्थ्य चेकअप गर्न पाउँछस् मेडिकल वापत तैले पैसा तिर्न पर्दैन भन्ने एउटा कामको गरियो भने पनि हामीलाई पोजेटिम म्यासेज जान्छ । साना कामबाट सुवात गरौँ’, सांसद खतिवडाले भनेका छन् ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरूलाई स्वास्थ्य जाँचको बहानामा पाँच हजारदेखि दश हजारसम्म निजी स्वास्थ्य संस्थाहरूले असुल्दै आएका छन् । यो व्यवस्थाबाट विदेश जाने श्रमिकहरू निकै पीडित बनेका छन् ।

सांसद खतिवडाले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रमा गरेको सुधारका कामहरूलाई स्वास्थ्यमन्त्री बस्नेतले निरन्तरता दिएकोमा धन्यावाद दिएका छन् ।

‘पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा भएका कार्यक्रमलाई निरन्तरता दिएकोमा स्वास्थ्यमन्त्रीलाई धन्यावाद दिन चाहन्छु’, खतिवडाले भने, ‘स्पाइनल कट इन्ज्युरी, मुटुका रोगीहरू क्यान्सर पीडितहरूलाई महिनाको पाँच हजार दिने व्यवस्था गरिएको छ । त्यसले पुग्दैन ।’

उनले भने, ‘अरुमा कटौती गरेर पनि यस्ता गम्भीर प्रकारका बिरामीहरूलाई सरकारले सकेसम्म नि:शुल्क औषधि उपचार गर्ने व्यवस्था गरोस् जनताको प्रिय सरकार हुनेछ ।’

Published : Sunday, 2023 June 18, 6:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया