प्रधानमन्त्री दाहाल, स्वास्थ्यमन्त्री बस्नेतलगायतबाट मेलम्ची क्षेत्रको अवलोकन, क्षति भएको संरचना छिटो बनाउने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानी आयोजनाका साथै मेलम्ची नदीको बाढीपहिरोले क्षतिपुर्याएको स्थानको स्थलगत अवलोकन गरेका छन् ।
शनिबार प्रधानमन्त्री दाहाललाई मेलम्चीमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले ल्याएर क्षति भएको भौतिक संरचनाको जानकारी गराएका हुन् । प्रधानमन्त्री दाहाललाई स्वास्थ्यमन्त्री बस्नेतले मेलम्ची नदीमा आएको बाढीपहिरोबाट भएको क्षति र भौतिक संरचना निर्माणका विषयमा जानकारी गराएका छन् ।
बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री युवराज दुलाल, बागमती प्रदेशसभाका सदस्य सरल सहयात्री पौडेल, मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङलगायतको पनि उपस्थिति रहेको थियो ।
मेलम्ची खानेपानी आयोजना राष्ट्रिय गौरवको आयोजनामा पर्छ । आयोजना प्रभावकारी सञ्चालन तथा निर्माणमा तीव्रता ल्याउन दाहालले निर्देशन दिएका छन् ।
स्थलगत अवलोनका लागि खानेपानीमन्त्री महिन्द्र राय यादव पनि मेलम्ची आएका छन् । प्रधानमन्त्री दाहालले स्थानीय सरोकारवाला निकायसँग अन्तरक्रिया गरेका छन् ।
हेलम्बु–१ अम्बाथान आइपुगेका प्रधानमन्त्री दाहालले याङ्ग्री र लार्के खोलाको पानी ल्याउन सरकारका तर्फबाट तत्काल पहल गर्ने जनाएका छन् ।
दाहालले मेलम्ची खोलामा आएको बाढीले बगाएको सडकलाई थप व्यवस्थित गर्न सरकारले आवश्यक बजेट व्यवस्था गर्ने बताएका छन् ।

प्रधानमन्त्री दाहालले स्थानीयवासीले उठाएका माग सम्बोधनका लागि आफू प्रतिबद्ध र चिन्तित रहेको बताएका छन् ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक कमलराज श्रेष्ठले आयोजनाका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी गराएका थिए । उनले आयोजनालाई नियमित र व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि पूर्ण सहयोग हुनुपर्ने बताए ।
विक्रम संवत् २०७८ असार १ गते मेलम्ची खोलामा बाढी र पहिरो आउँदा खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको थियो ।
सिन्धुपाल्चोकको हेलम्बु गाविसअन्तर्गत मेलम्ची खोलाको रिवर्मामा मुहान (हेडवर्क) निर्माण गरी सुन्दरीजलसम्म २६ दशमलव ५ किलोमिटर लामो सुरुङ निर्माण गरेर पानी ल्याइएको छ ।
सुरुङको माध्यमबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा ल्याइने गरिएको छ । दाहालले मेलम्ची खानेपानी आयोजनालाई थप व्यवस्थित बनाउन सरकारका तर्फबाट पूर्ण सहयोग रहने बताएका छन् ।
बिचार/ब्लग
कांग्रेसको विभाजनले संविधान र लोकतन्त्रको अतिक्रमण हुनेछ
डा. राजेश्वर सिंह कुशवाहा

फेसबुकबाट तपाईको प्रतिक्रिया