लुम्बिनीमा गत वर्षभन्दा सवा २ अर्ब कमको बजेट

मसुरिया । नेपाली कांग्रेस नेतृत्वको लुम्बिनी प्रदेश सरकारले करीब ४० अर्ब बराबरको बजेट ल्याएको छ ।

लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि करीब ४० अर्ब बजेट ल्याएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले वास्तविकतामा आधारित रहेर बजेट ल्याउन निर्देशन दिएअनुसारकै बजेट ल्याइएको छ ।

प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेश सभा बैठकमा ४० अर्ब ४७ करोड ८९ लाख ९७ लाख रुपियाँ बराबरको बजेट ल्याएका हुन् ।

चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख ९९ हजार र पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार बजेट ल्याइएको छ ।
वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ५८ करोड ९७ लाख रुपियाँ ल्याइएको छ । चालुतर्फ ३३.६८ प्रतिशत, पुँजीगततर्फ ५७.४५ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ८.८७ प्रतिशत रहेको छ ।

आगामी वर्ष आन्तरिक राजस्वबाट ६ अर्ब ७३ करोड ५१ लाख, संघबाट प्राप्त हुने राजश्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख, संघबाट प्राप्त हुने रोयल्टी २९ करोड, स्थानीय तहबाट बाँडफाँट भई प्राप्त हुने राजश्व २ अर्ब ५० करोड ३० लाख रुपियाँ प्राप्त हुने अनुमान गरिएको छ ।

संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब १४ करोड ८३ लाख, स–शर्त अनुदानबाट ५ अर्ब ८३ करोड ५९ लाख, समपुरक अनुदानबाट ८४ करोड, बिशेष अनुदानबाट ५६ करोड, चालु आर्थिक वर्षको नगद मौज्दातबाट ३ अर्ब र आन्तरिक ऋणबाट १ अर्ब २५ करोड परिचालन हुने अनुमान रहेको छ ।

चालु वर्ष २०७९/०८ मा ४२ अर्ब ६३ करोड ५७ लाख रुपियाँको बजेट आएको थियो । यो पटक २ अर्ब १५ करोड कम बजेट आएको छ ।

Published : Friday, 2023 June 16, 6:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया