सीडीओहरू र शाखा अधिकृतहरूको सरुवा, आफ्नालाई राम्रो जिल्ला

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेका छन् ।

श्रेष्ठको निर्देशनमा गृह मन्त्रालयले केही जिल्लाका सीडीओहरूको सरुवा गरेका हुन् । असार १ गते मन्त्रालयले सीडीओहरूको सरुवा तथा पदस्थापन गरेको जनाएको छ ।

सामान्य प्रशासन मन्त्रालयबाट गृह मन्त्रालयमा आएका केही सह–सचिवहरू, गृह मन्त्रालयमा अतिरिक्त समूहमा रहेका उनीहरूलाई पदस्थापन तथा सरुवा गरेको छ । गृहमन्त्री श्रेष्ठले केही सीडीओलाई निकै आकर्षक जिल्लाबाट अर्को आकर्षक जिल्लामा सुरुवा गरेका छन् ।

नेपाल प्रहरीका प्रहरी निरीक्षकहरूको बढुवामा विवादमा आएका गृहमन्त्री श्रेष्ठले सीडीओहरूको सरुवामा पनि आफूलाई बचाउन सकेनन् । श्रेष्ठ निकटका बिचौलियाहरूले आर्थिक चलखेल गरेर सीडीओहरू र शाखा अधिकृतहरूको सरुवा गरेको आरोप लागेको छ ।

गृह मन्त्रालयमा अतिरिक्त समूहमा रहेका गोपालकुमार अधिकारीलाई कञ्चनपुरको सीडीओ बनाइएको छ । शन्तबहादुर सुनुवारलाई रोल्पाको सीडीओ बनाइएको छ ।

कञ्चनपुरका सीडीओ गोपालप्रसाद अर्याललाई डोटीको सीडीओ बनाइएको छ । मकवानपुरका सीडीओ राजेन्द्र पाण्डेलाई सिरहाको सीडीओ बनाइएको छ । सिरहाका सीडीओ भोजराज खतिवडालाई खोटाङको सीडीओ बनाइएको छ ।

डोटीकी सीडीओ कल्पना श्रेष्ठलाई सरुवा गरेर नवलपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ । खोटाङका सीडीओ सूर्य सेढाईंलाई मकवानपुरको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।

रोल्पाका सीडीओ परमानन्द घिमिरेलाई काभ्रेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । कारागार कार्यालय मोरङमा कृष्णबहादुर खड्कालाई सरुवा गरिएको छ । खड्का गृह मन्त्रालयबाट मोरङ गएका न् ।

रामेछापका सहायक सीडीओ अनुज घिमिरेलाई इलाका प्रशासन कार्यालय धरानमा सरुवा गरिएको छ । जाजरकोटका सहायक सीडीओ गंगाबहादुर क्षेत्रीलाई कास्कीको सहायक सीडीओ बनाइएको छ । काभ्रेका सहायक सीडीओ महेशकुमार पोखरेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।

काठमाडौंका विभिन्न कार्यालयहरू त्रिभुवन विमानस्थल अध्यागमन, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभाग, अध्यागमन विभाग र काठमाडौंका विभिन्न कार्यलयमा कार्यरत र अवधि पुगेका २८ शाखा अधिकृतलाई गृह मन्त्रालयले काठमाडौं बाहिर सरुवा गरेको छ ।

Published : Friday, 2023 June 16, 4:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया