राम्रो काम गरेर जनताको स्याबासी पाएका बालेनलाई प्रदीप अधिकारीले स्पष्टीकरण सोधे

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पूर्वजानकारी र सूचना नदिई फेन्सिङ तार काटेकोमा काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन्द्र शाह ‘बालेन’सहित तीन जनालाई स्पष्टीकरण सोधेको छ ।

प्राधिकरणका उप–प्रबन्धक प्रकाशचन्द्र शर्माले नगरप्रमुख शाहसहितका ३ जनालाई तारे काटेको विषयमा पत्र काटेर स्पष्टीकरण सोधेका हुन् ।

महानगरको ९ नम्बर वडामा पर्ने प्राधिकरणको विमानस्थल क्षेत्रसँग सम्बन्धित क्षेत्रमा बिहीबार महानगरले नगरप्रहरीसहितको टोली पठाई फेन्सिङ तार काटिदिएको थियो ।

प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले काठमाडौं महानगरपालिकाका नगरप्रमुख शाहसहित ३ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

महानिर्देशक अधिकारीले निकै अहँकारी र अटेरी हर्कत गर्दै आएका छन् । प्राधिकरणभित्र निकै डर र त्रासको वातावरण सिर्जना गरेर कर्मचारीहरूलाई दवावमा राखेको आरोप छ ।

महानिर्देशक अधिकारीले विमानस्थलको नाममा कानून विपरितको कार्य गरेपछि नगरप्रमुख शाहले तार काटिदिएका थिए ।

तार काट्न नगरप्रमुख शाहले पटक पटक प्राधिकरणलाई सचेत गराउँदा पनि महानिर्देशक अधिकारीले अटेर गरेर बसेका थिए ।

पत्रमा भनिएको छ, ‘प्राधिकरणका कर्मचारीले फेन्सिङ तार नकाट्न अनुरोध गर्दा पनि अटेर गरी जबर्जस्ती कार्य गरेको, सोसम्बन्धी पत्र तथा जानकारी माग्दा नगरप्रमुखको आदेशबमोजिम कार्य गरेको र त्यहीँ सोध्न जानुहोस् भनी जवाफ दिएकाले सो कार्यमा तपाईं (मेयर) को संलग्नता देखिएकाले प्राधिकरणको ऐनको दफा ७ को कसुरमा ७ दिनभित्र लिखित स्पष्टीकरण पेस गर्नु ।’

प्राधिकरणका महानिर्देशक अधिकारीले तार काटिएको विषयमा चित्तबुझ्दो जवाफ नपाएमा नगरप्रमुख शाहसहित संलग्नहरूलाई उडानमा प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् ।

प्राधिकरणका महानिर्देशक अधिकारीले महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे र वडा नम्बर ९ का वडाध्यक्ष रामजी भण्डारीलाई पनि सात दिनभित्र लिखित स्पष्टीकरण बुझाउन भनेका छन् ।

कानून उल्लंघन गरेको पुष्टि भएमा नगरप्रमुख शाहसहितले ५० हजार रुपियाँसम्म जरिवाना तिर्नुपर्ने चेतावनी दिइएको छ । जरिवाना नतिरेमा उडानमा प्रतिबन्ध लगाउन सकिने प्राधिकरणको कानूनमा व्यवस्था रहेको छ ।

Published : Friday, 2023 June 16, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया