वनएक्स बेट र क्रिप्टो करेन्सी ट्रेडमा संलग्न पाँच जना पक्राउ, ७४ करोड १३ लाखको कारोबार

काठमाडौं । प्रहरीले बेटीङ एप्लिकेसन वन एक्स बेटमार्फत सट्टाबाजी लगाउन रकम संकलन गर्ने गराउने र क्रोप्टो करेन्सी ट्रेडमा संलग्न रहेको अभियोगमा ५ जनालाई पक्राउ गरेको छ ।

मंगलबार काठमाडौंबाट पक्राउ पर्नेहरूमा कैलाली घर भई काठमाडौंको चावहिल बस्ने २९ वर्षीय दिनेश खडका, काभ्रेपलाञ्चोक घर भई चावहिल बस्ने २८ वर्षीया अनिता धिताल, भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–४ घर भएका २७ वर्षीय दीपेश श्रेष्ठ, कञ्चनपुर घर भई पेप्सीकोला बस्ने २५ वर्षीय दिनेश चन्द र नुवाकोट घर भई काठमाडौंको नागार्जुन नगरपालिका–२ बस्ने २४ वर्षीय आशिष लामिछाने रहेका छन् ।

प्रहरीले उपत्यकाको मैजुवहाल, मध्यपुर ठिमी, सानो भर्‍याङ, बुद्धनगर लगायतका स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट ४ थान ल्यापटप ४ थान, डायरी ६ थान, सिम कार्ड ३४ थान, मोबाइल ७ थान, नागरिकताको प्रतिलिपि ६ थान, विभिन्न बैंकका एटिम ५ थान, विभिन्न बैंकका चेकबुक १४ थान र राउटर ५ थान प्रहरीले बरामद गरेको छ ।

उनीहरूबाट हालसम्म ७४ करोड १३ लाख ५० हजार ७ सय १३ रुपियाँ बराबरको कारोबार भएको अनुसन्धानबाट खुल्न आएको छ ।

उनीहरूलाई थप अनुसन्धान एवं कारवाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ ।

Published : Wednesday, 2023 June 14, 9:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया